काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको कार्यशैलीमा सुधार गर्नुपर्ने बताएका छन् । आज नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरी कमजोर हुँदा अपराधीले पनि टेर्न छाडेको टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले यति मात्रै नभई अहिले सुन तस्करीले भेट्यो भने प्रहरीलाई नै हप्काइदिने बताए । प्रधानमन्त्रीले भने, ‘सुन तस्करले भेट्यो भने पुलिसलाई हप्काई दिन्छ । ओए किन हेरेको भनेर । ‘झोलाभरि सुन हुन्छ तर, किन हेर्या भन्छ ? उल्टै हप्काउँछ ।’ उनले जमाना नै फेरिएको बताउँदै भलदमी र सोझासाझा बनेर तस्करी गर्ने गरेको संकेत गरे । ‘हामी जस्ता भलादमी सोझा सिधा इमान्दारलाई किन हेरेको छ हँ भनेपछि के हो के हो.. ? को हो म चिन्या छ हँ.. भने पछि झन के हो के हो… यस्तो खाल्को जमाना छ’, उनले भने।
‘ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याएका हौं’
प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याइएको बताएका छन् । उनले ६ वटा अध्यादेशबाट २९ वटा कानुन संशोधन गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले कानुनका कमी, कानुन कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनता दुःखी भइरहेको उल्लेख गरे । कानुन कार्यान्वयनको उल्झनका कारण नागरिकमा वितृष्णा पैदा हुने गरेको उनको भनाई थियो । उनले देशको हित, विकास, शान्ति सुरक्षा, अमन चयनका लागि अध्यादेश ल्याइएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले सामाजिक सञ्जालबाट हुने अपराध, साइबर क्राइम जस्तो अपराध, अरू विभिन्न प्रकारका ट्राफिकिङका अपराध, ड्रग्स बहुत भयावह ढंगले बढेको छ । कानुनका कमी, कानुन कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनतालाई जुन दुःख पाइरहेका छन्, यसले पनि मान्छेप्रति वितृष्णा, घृणा फैलिने काम हुन्छ र यी कुराहरूलाई हटाउनु पर्छ । कानुनका जटिलतालाई पनि हटाउनु पर्छ, तोड्नपर्छ । कानुन कार्यान्वयनका ढिलासुस्ती लगायतका अनेक उल्झनहरूलाई पनि हामीले हटाउनु पर्छ ।’
प्रधानमन्त्री ओलीले नेपाल प्रहरी आफन्तहरूको संस्था नभई सबै प्रहरीको घर भएकाले कार्य सम्पादनका आधारमा बढुवा हुनुपर्ने बताए । प्रहरी संगठन देशका लागि हो भन्ने कुरा मनन गर्नुपर्नेमा उनले जोड दिए । उनले नेपाल प्रहरी स्वाभिमानी संस्था भएकाले देशको आवश्यकता विपरीतका कामहरू प्रहरीबाट हुनु नहुने बताए ।