बुटवलमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता

by समतल अनलाइन

बुटवल उपमहानगरपालिकाले खेलाडी उत्पादनका लागि बुटवलमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ।

खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै लगानी गर्ने उदेश्य राखेर विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिनुभयो।

मंगलबार खेल पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा संयोजक पियाले नगरलाई खेलाडी उत्पादन, खेल प्रतियोगिता र भौतिक संरचना तयार गर्नका लागि चासो दिएको बताउनुभयो।

उहाँका अनुसार नगरस्तरीय विद्यालयहरुका बीचमा मेयरकप फुटबल प्रतियोगिताका लागि २० लाख रुपैयाँ छुट्याइएको छ। यसक्षेत्रकै उत्कृष्ट राशीको विद्यालयस्तरीय प्रतियोगिता हुने र यसले खेलाडी उत्पादनमा समेत सहयोग गर्ने उहाँले बताउनुभयो।

ुखेलक्षेत्रमा ठूला प्रतियोगिता गर्नेमा मात्रै ध्यान दिएर हुँदैन, अब यसलाई फरक दृष्टिले हेर्नुपर्छ र नगरमै खेलाडी उत्पादन गर्नेतर्फ जोड दिने र संरचना निर्माणतर्फ बढी चासो दिनेछौुं(उहाँले भन्नुभयो।

चालु आर्थिक वर्षमा बुटवल उपमहानगरपालिकाले खेलकुदका लागि २ करोड १७ लाख रुपैयाँ विनियोजन गरेको र विद्यालयस्तरीय फुटबल प्रतियोगिता, तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, लनटेनिस, क्रिकेट, आर्चरी, ब्याडमिन्टन प्रतियोगितालाई विशेष प्राथमिकता दिएको उहाँले बताउनुभयो।

यस्तै खेलकुद मैदान स्तरोन्नति, खेलकुद प्रशिक्षक, खेल शिक्षकलाई तालिम, खेलाडी र प्रशिक्षक सम्मान जस्ता कार्यक्रमका लागि बजेट विनियोजन भएको उहाँले बताउनुभयो।

उहाँले छिटै नै वार्षिक रुपमा आयोजना हुने खेलकुदहरुको खेलतालिका तयार गरेर सोहीअनुसार आयोजना गर्ने र गर्नका लागि अनुरोध गरिने बताउनुभयो।

खेलकुद विकास समितिका सदस्य सचिव तथा खेलकुद शाखा प्रमुख कोपिला ज्ञवालीले खेलकुद क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि खेल पत्रकार, खेलकुद क्लब तथा संस्थाहरु, विद्यालयहरुसँग छलफल तथा अन्तरक्रिया गरिने बताउनुभयो।

 
 
  
 

You may also like