नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

by समतल अनलाइन
Shares

काठमाडौं । ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ ।

काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ ।निर्देशनालयले आज सार्वजनिक सूचना जारी गरी ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक वा ग्राहकलाई अनुरोध गरेको छ ।

निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको हो। ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि निर्देशनालयले अनुरोध गरेको छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले करिब दुई हप्ता अगाडि एक ट्रान्सपोर्ट कम्पनीमार्फत् रिचार्ज कार्ड ढुवानी गर्दा हराएको र खोजी जारी रहेको जानकारी दिए ।

प्रवक्ता अधिकारीका अनुसार रिचार्ज कार्डहरुलाई नेपाल टेलिकमको कम्प्युटर सिस्टममा इन्ट्री नगरेसम्म त्यसबाट मोबाइल ब्यालेन्स रकम रिचार्ज हुँदैन । ती हराएका रिचार्ज कार्डहरु कम्प्युटर सिस्टममा इन्ट्री नभएकाले तीबाट रिचार्ज हुँदैन ।

तर कसैले रिचार्ज कार्ड भनेर बेच्यो र कुनै ग्राहकले प्रयोग गर्यो भने ऊ ठगिन सक्छ । त्यसैले ती सिरियल नम्बर भएका रिचार्ज कार्ड बिक्री वितरण नगर्न र भेटाएमा दुरसञ्चार कार्यालयमा फिर्ता गर्न भनिएको प्रवक्ता अधिकारीले बताए ।

‘हाम्रो सिस्टममा इन्ट्री नै नभएकाले ती रिचार्ज कार्ड कागजको खोस्टा बराबर हुन्,’ उनले भने, ‘त्यसबाट ग्राहकहरु नठगिउन् भनेर प्रयोग नगर्न भनिएको हो ।’

You may also like

This will close in 0 seconds