आदिवासी तथा सिमान्तकृत पत्रकारलाई एआई तालिम, १० दिने कार्यक्रम सम्पन्न

by समतल अनलाइन
29Shares

बुटवल। आदिवासी जनजाति तथा सिमान्तकृत समुदायका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी १० दिने तालिम सम्पन्न भएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीको आयोजनामा बुटवलमा सञ्चालित तालिम मंगलबार एक कार्यक्रमबीच समापन गरिएको हो।

समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय ले पत्रकारिता क्षेत्रको संरक्षण, प्रवर्द्धन र पत्रकारहरूको हितका लागि उपमहानगरले आवश्यक सहयोग गर्न कुनै कञ्जुस्याइँ नगर्ने बताउनुभयो। पत्रकार तथा नागरिकप्रति राज्यको दायित्व रहने उल्लेख गर्दै उहाँले बुटवलको समृद्धि र नागरिकको उन्नतिका लागि उपमहानगर प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

उहाँले मूलधारको पत्रकारितामा आदिवासी जनजाति, महिला तथा सिमान्तकृत समुदायका मुद्दा स्थापित गर्न त्यस्ता समुदायका पत्रकारहरूको सहभागिता बढाउन आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरु राना, फोनिज लुम्बिनी प्रदेश महासचिव सनु थापा, फोनिजका पूर्व केन्द्रीय सदस्य कमल चौधरी, नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरे मगर लगायतले शुभकामना व्यक्त गरेका थिए।

तालिममा एआईको प्रयोग, खोज पत्रकारिता, पत्रकारितामा प्रविधिको उपयोग, फोटो तथा भिडियो सम्पादन, डिजिटल तथा अनलाइन पत्रकारिता लगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षकहरू उमङ्ग निरौला, चित्र गुरुङ, विष्णु भट्टराई, यम राना र डिबी सुस्लिङ लगायतले विभिन्न विषयमा सहजीकरण गरेका थिए।

बुटवल उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भएको तालिम फोनिज रुपन्देहीका अध्यक्ष मीन राना को अध्यक्षता, उपाध्यक्ष राज चौधरी को स्वागत तथा सचिव आकृति थापा को सञ्चालनमा सम्पन्न भएको थियो।

You may also like

This will close in 0 seconds