कर्नाटकमा कांग्रेसको १३६ सिटमा जित, भाजपा ६५ सिटमा खुम्चियो

नयाँदिल्ली । भारतको कर्नाटक राज्यमा भारतीय राष्ट्रिय कांग्रेसले स्पष्ट बहुमत ल्याएको छ । २२४ सदस्यीय विधानसभामा बहुमतका लागि ११३ सिट आवश्यक पर्नेमा कांग्रेसले १३६ सिट जितेको छ ।

सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) ६५ सिटमा खुम्चिएको छ । सत्तारुढ भाजपाले हार स्वीकार गरेको बीबीसी हिन्दीले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटक राज्यमा बहुमत हासिल गरेकोमा कांग्रेसलाई बधाई दिएका छन् ।

कर्नाटकमा अघिल्लो चुनावमा भाजपाले एक सय चार सिट जितेको थियो । यस पटक कांग्रेस ऐतिहासिक पुनरागमन गर्न सफल भएको छ । कर्नाटकको हारलाई भारतीय राजनीतिक विश्लेषकहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हार भनेका छन् ।

उनी चुनावी प्रचारका लागि मात्रै २० पटक कर्नाटक पुगेका थिए । यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलङ्गनामा विधान सभाको चुनाव हुँदैछ । ती राज्यहरुमा पनि बहुमत ल्याउनका लागि कांग्रेसलाई कर्नाटकको जितले हौसला दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 
 
  
 

You may also like