भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

by समतल अनलाइन
50Shares

काठमाडौं। दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुगेको छ । भूकम्पमा परी अरु ९ सय ७१ जना घाइते भएका छन् ।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पमा परी व्यापक जनधनको क्षति भएको पुष्टि गर्दै पछिल्लो विवरण सार्वजनिक गरेकी हुन् ।

बुधबार बेलुकीपख गएका ७.२ र ७.५ म्याग्निच्युडका दुई वटा शक्तिशाली भूकम्प भेनेजुएलाको इतिहासमा एक शताब्दीभन्दा बढी समयपछिकै सबैभन्दा ठूला र विनाशकारी मानिएका छन्। भूकम्पको धक्का भेनेजुएलाका अधिकांश स्थानका साथै आसपासका छिमेकी देशहरूमा समेत महसुस गरिएको थियो ।

भूकम्पका कारण ठूला र बहुतले भवनहरू भत्किँदा कैयौँ मानिसहरू भग्नावशेषमा पुरिएका छन् । सरकारी टेलिभिजनले सार्वजनिक गरेको भिडियोमा सबैभन्दा बढी प्रभावित भएको ला गुआइरा राज्यमा उद्धारकर्मीहरूले तीन जना बालबालिकालाई भग्नावशेषबाट जीवितै बाहिर निकालेको दृश्य देखाइएको छ ।

ती बालबालिकाहरू धूलोले लतपतिएका भए पनि सकुशल फेला परेका हुन् । कार्यवाहक राष्ट्रपति रोड्रिगेजले ला गुआइरा क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्दै भवनहरू भत्किएका कारण यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र त्यहाँ युद्धस्तरमा उद्धार कार्य जारी रहेको जानकारी दिएकी छिन् ।

You may also like