श्रीमतीलाई अंगालो हालेको देखेपछि शिक्षक विष्टको कुटेर हत्या

by समतल अनलाइन

बैतडी । बैतडीमा शिक्षक हत्याको आरोपमा श्रीमान–श्रीमती पक्राउ परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका–२ ग्वानी घर भई कृष्ण माध्यमिक विद्यालय पाटनमा पढाउँदै आएका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार दम्पतिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्लाको पुर्चौँडी नगरपालिका–३ न्वादेउ घर भएका प्रजा बोहरा र बमिला बोहरालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । बमिला बोहरा कृष्ण मावि पाटनको छात्राबासमा बस्दै आएकी थिइन् । उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत छात्रा हुन् ।

पुस १ गते रात शिक्षक विष्टले बमिला बोहरामाथि अभद्र व्यवहार गरेको र त्यसको झोंकमा उनका श्रीमान् प्रजा बोहराले शिक्षक विष्टलाई मुक्का हानेर ढलाएको प्रहरीको अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले पत्रकार सम्मेलन गर्दै भने, ‘पुस १ गते साँझको समयमा बमिला बोहरा शौचालय जान्छु भनी बाहिर निस्किइन् । ढिलो गरेपछि उनका श्रीमानले खोजी गर्दा शिक्षक विष्टले अँगालो हालेको देखेपछि उनका श्रीमान प्रजा बोहराले शिक्षक विष्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे ।’

छात्रबासमै हत्या गरेपछि घटना लुकाउनका लागि विष्टको शवलाई छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ । घटनाबारे अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।
घटनाका आरोपित बोहरा दम्पतीमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिएका छन् । ‘जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ’, उनले भने, ‘घटनामा अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान गरिरहेका छौं ।’

 
 
  
 

You may also like