बुटवल । स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तरगत बुधबारको खेलमा सुनौलो संगम युवा क्लब देविनगर विजयी भएको छ ।
पाच नम्बर प्रदेश प्रहरी तालिम केन्द्रलाई १–० गोल अन्तरले पराजित गर्दै सुनौलो संगम दोस्रो चरणमा प्रवेश गरेको हो । रामनगर खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलको १३ औ मिनेटमा सुनौलो संगमका रंजित थापाको एकमात्र गोल जितका लागि निर्णायक बन्यो ।
खेलको अन्तिम समयमा प्रहरीले बराबरीको अवसरलाई चुकायो । पेनाल्टी प्रहारलाई सुनौलो संगमका गोलकिपर युगल थापाले रोकिदिएका थिए । उनि खेलमा म्यान अफ दी म्यानबाट पुरस्कृत भएका थिए । विहिबार लिस्नु युवा क्लब कोटिहवा र फर्साटिकर युवा क्लबका बिचमा खेल हुने सचिव सन्तोष गुरुङले बताए ।
प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैया, उपविजेता टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयासहित कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष कमल रानाले बताए । प्रतियोगिता अवधिमा उत्कृष्ट खेलप्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, ट्रफी, प्रमाणपत्र तथा विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्यपंक्ति खेलाडी, अग्रपंक्ति खेलाडीहरुलाई जनही ५–५ हजारका दरले पुरस्कृत गरिने उनले बताए । हरेक प्रतियोगितामा एक जना म्यान अफ दी म्याचलाई नगद २ हजार, कपबाट पुरस्कृतसमेत गरिने छ । विसं. २०७१ मा तेस्रो संस्करणको उपाधि खनाल ब्रदर्श फर्साटिकरले चुमेको थियो ।
कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन ।