काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकार असफल भएको बताएका छन् ।असफल सरकारका कारण अन्योलमा रहेको मुलुकलाई निकास दिन कांग्रेस नै अघि सर्नुपर्ने अवस्था आएको उनले बताएका छन् ।
आज (शनिबार) दावाँली मिलन क्लबको १५ औं साधारण सभामा नेता सिंहले केपी ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्वन्दतर्फ धकेलेकाले कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनु परेको बताए ।
‘पाँच वर्षक लागि प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरुले तीन वर्ष पनि टिकाउन सकेनन् । यो सरकार असफल भइसक्यो । देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकता अनुसार आफ्नो नेतृत्वको सरकार दिन तयार छ’, सिंहले भने ।
संविधान निमार्ण गर्दा चार कम्युनिष्ट नेताहरु असफल हुँदा कांग्रेसको नेतृत्वमा संविधान निर्माण भएको भन्दै उनले अहिलेको राजनीतिक समस्याबाट निकास दिन पनि कांग्रेस नै सफल हुने बताए । ‘तर कम्युनिष्टहरुमा सेवाको भावना छैन । अहिलेको नेतृत्व इमानदार हुनु पर्छ । सेवाको भावना हुनुपर्छ । राष्ट्रियता र नैतिकता हुनु पर्छ’, उनले भने ।