एनपीएलमा विराटनगरसँग ४ विकेटले पराजित भएपछि लिग चरणबाटै बाहिरियो पोखरा

by समतल अनलाइन
31Shares

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा विराटनगरले पोखरालाई ४ विकेटले हराएको हो ।

पोखराले दिएको १३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगरले खेल सकिन ४ बलअघि ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

विराटनगरका बसिर अहमदले ३७ रन बनाए । ३८ बलको सामना गरेका उनले २ छक्का र २ चौका प्रहार गरे । त्यसैगरी, लोकेश बमले २७ बलमा ३३ रन बनाए भने इसुरु उडानाले १२ बलमा २५ रन बनाए ।

बलिङतर्फ रमेश मेन्डिस र कुशल भुर्तेलले समान दुई विकेट लिए भने विपिन खत्री र धनञ्जय लक्षनले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भयो ।

पोखराका ओपनर युवराज सम्राले उत्कृष्ट ब्याटिङ गर्दै ४७ बलमा सात चौका र पाँच छक्कासहित ८४ रन बनाए । यस्तै, धनञ्जय लक्षनले २२ र सनि बीकेले १२ रनको योगदान दिए । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

विराटनगरका लागि सन्दीपले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २७ रन खर्चेर छ विकेट लिए । उनले यसक्रममा ह्याट्रिकसमेत पूरा गरे । यस्तै, एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिए ।

यससँगै ६ मध्ये ५ खेल हारेको पोखरा लिग चरणबाटै बाहिरिएको छ । विराटनगरको भने समान खेलबाट ६ अंक छ । विराटनगर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

You may also like