बुटवलमा सुरु भयो खुल्ला लन टेनिस प्रतियोगिता

by समतल अनलाइन

बुटवल । चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७७ शुरु भएको छ । एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई बल हस्तान्तरण गरि प्रतियोगिता उद्घाटनमा गर्दै कोभिड–१९ संक्रमण न्युनिकरणसंगै खेलकुद गतिविधि बढेको बताए । सरकारको गतिविधिसंगै खेलमा समेत लगानी गरिरहेको बताए । नगर खेलकुद विकास गठन गरि नगरका सबै खेल गतिविधिलाई ब्यवस्थापनका काम अघि बढाएको उनले बताए । नगरभित्र रहेका खेलमैदानहरु स्तरोन्नती गर्ने काम गरेको बताए ।

नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले कोभिड १९ को संक्रमण कम हुदै गर्दा देशमै पहिलो खुल्ला प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको हौसला बढाउने काम बुटवलले गरेको बताईन । कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका केन्द्रीय सदस्य दिर्घ बहादुर केसीले खेल विकासमा तीन तहकै सरकारबाट सहयोग जरुरी रहेको बताए । प्रतियोगिता आयोजना गर्न आर्थिक, भौतिक कठिनाई रहने भएको भन्दै यस क्षेत्रको प्रतिष्ठित तिलोत्तमा गोल्डकप आयोजना गर्न समस्या भएको दुखेसो गरे । खेलकुद आयोजनाका लागि स्थानिय सरकारको मुख्य सकहयोग जरुरी रहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले काठमाडौ सम्पन्न टिम टेनिस नेपाल जुनियर प्रिमियर नेशनल प्रतियोगितामा रुपन्देहीबाट पदक जितेका निश्चल ज्ञवाली, संघर्ष फौदार, ब्रिजेश अर्याल र योगेश ज्ञवाली तथा प्रशिक्षक विकास खड्कालाई नगदसहित सम्मान गरेका छन । मन जयन्कर टेनिस एकेडेमीका अध्यक्ष मनोज राणाले रुपन्देहीलाई बल हस्तान्तरण गरेका छन ।

प्रतियोगिता आयोजनाका लागि खेलाडीहरुबाट नै आर्थिक श्रोत संकलन गरिएको संघका अध्यक्ष सन्जय श्रेष्ठले बताए । ‘तेस्रो खुला लनटेनिस राष्ट्रिय प्रतियोगिता सकेसंगै कोभिड–१९ को संक्रमणका कारण देशभरको खेल गतिविधि रोकिएको थियो ।’– उनले भने । हामीले नै फेरि अहिले रुपन्देहीबाट खेल गतिविधि शुरुवात गर्न लागेको उनले बताए । नेपालका रेकिङ खेलाडीसहित देशभरबाट खेलाडीहरु भित्रने उनले बताए । यो एउटा कुम्भ मेलाकै रुपमा चल्न थालेको उनले बताए ।

प्रतियोगिताको पहिलो दिन पुरुष सिगलतर्फ पोखराका निरज गुरुङले बुटवलका दिपक अर्याललाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै दास्रो चरणमा प्रवेश गरेका छन । यसैगरि पोखराका अंकित अधिकारीले बुटवलका कृष्ण बश्याललाई ६–०, ६–० ले पराजित गरेका छन । पोखराका प्रान्जवल कायस्थले अभिनव आचार्यलाई ७–५, ६–२ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।
यसैगरि वोमन्स सिगलतर्फ ईशाश्री शाहले प्रकृति श्रेष्ठलाई ६–०, ७–६ तथा अर्को खेलमा मायाङका राणाले सर्वानी श्रेष्ठलाई ३–६, ६–१, ६–२ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।
यसैगरि ३५ प्लसमा बुटवलका गोपाल ज्ञवाली, पोखराका राजन पौडेल, बुटवलका रामु बिक विजयी भएका छन । यसैगरि ४५ प्लसतर्फ चन्द्र शाही युएममी, अर्जुन गुरुङ, दोर्जे लामा, गोपी भट्टराई, धर्म लामिछाने, लोक गुरुङ, उत्तम बोगटी, बिमल वाइवा विजयी हुदै क्वाटरफाईनलमा स्थान बनाएका छन ।

वोमन्स डबल्सतर्फ मायाङका राणा र प्रेरणा कोइरालाको जोडीले ईशाश्री शाह र सर्वानी श्रेष्ठको जोडीलाई ६–०, ६–२ ले पराजित गरेका छन भने मेन्स डबल्सतर्फ प्रनव खनाल र सन्तोष खत्रीको जोडीले सौगात बिक र बिष्णु नेपालीको जोडीलाई ६–०, ६–० पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन । भिष्म काउचा र अन्जन थिङको जोडीले दावा शेर्पा र अविनव आचार्यको जोडीलाई ४–६, ६–१, १०–४ को सेटमा पराजित गरेका छन ।

प्रतियोगितामा सिगलतर्फ १ सय ३ जना खेलाडी र डबल्सतर्फ १ सय ३७ खेलाडीले भाग लिएका छन । प्रतियोगिता पुरुष एकलतर्फ एकल, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि ४ ईभेन्टमा, यसैगरि महिलामा एकल खुल्ला, पुरुष युगलतर्फ खुल्ला युगल, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि ४ ईभेन्ट, महिला युगलतर्फ युगल खुल्ला गरि कुल १० इभेन्टमा हुने उनले बताए । प्रतियोगिताको पुरुष÷महिला सिगल तर्फ उपाधि विजेताले नगद ४५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेताले क्रमश नगद २० हजार र १० हजार, ४५ वर्षमाथिका विजेता र उपविजेताले क्रमश १५ हजार र १० हजार तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेताले क्रमश १० हजार र ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

डबल्सतर्फको प्रतियोगिता अन्तरगत पुरुष डबल्स÷महिला डबल्सको उपाधि विजेताले नगद १५ हजार, उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि डबल्सतर्फ ३५÷४५÷५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमश नगद १५ हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगिताको १० विधामा पुरस्कारका लागिमात्र ३ लाख ५० हजार रुपैया खर्च हुने खेल संयोजक तथा संघका सचिव गोपाल ज्ञवालीले बताए । चार दिनसम्म संचालन हुने प्रतियोगितामा १६ लाख खर्च हुने अनुमान आयोजकको छ । गतवर्ष सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि बुटवलका युवा खेलाडी रितिक रानाले चुमेका थिए ।

 
 
  
 

You may also like