दोस्रो जी–२५ वडा स्तरीय सेभेन ए साइड भेट्रान्स फुटबल कप : टाईसिट सार्वजनिक

by समतल अनलाइन
40Shares

बुटवल । दोस्रो संस्करणको बुटवल उपमहानगरपालिका वडा स्तरीय सेभेन ए साइड भेट्रान्स फुटबल कप–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। विजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर खेलमार्फत भ्रातृत्व विकास गर्ने उद्देश्यले जी ट्वान्टी फाइभ क्लबले असोज २६ गतेदेखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगिताको तयारीबारे जानकारी दिन बिहीबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले टाइसिटसमेत सार्वजनिक गरेको छ। देवीनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि विभिन्न उपसमितिमार्फत टिम दर्ता तथा व्यवस्थापनको काम सम्पन्न भइसकेको क्लबका अध्यक्ष सजनकुमार भारीले बताए। उनका अनुसार अहिले मैदान तयारी र अतिथि सत्कारलगायतका काम भइरहेको छ।

प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर १९ र वडा नम्बर ७ बीच हुनेछ। बुटवल उपमहानगरपालिकाका विभिन्न वडाका भेट्रान्स खेलाडी सम्मिलित १२ टोलीले प्रतियोगितामा सहभागिता जनाउने खेल संयोजक रमेशकुमार जोशीले जानकारी दिए।

प्रतियोगिताको विजेताले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय ५५ रुपैयाँ, सर्वाधिक गोलकर्तालाई ६ हजार ५ सय ५५ रुपैयाँ र उत्कृष्ट गोलरक्षकलाई ६ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ पुरस्कारको समेत व्यवस्था गरिएको छ।

प्रतियोगितामा सहभागी प्रत्येक टोलीमा ४० वर्ष उमेर पुगेका चार जना र ४५ वर्ष उमेर पुगेका तीन जना खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। प्रतियोगिताको पहिलो संस्करणमा वडा नम्बर ११ विजेता तथा वडा नम्बर ७ उपविजेता बनेका थिए।

प्रतियोगिताको प्रथम पुरस्कार तथा अनुशासित टोलीको पुरस्कार अस्ट्रेलिया निवासी विष्णुबहादुर हमालले सौजन्य गरेका छन्। कार्यक्रममा बोल्दै हमालले आफूले बाल्यकालमा भलिबल खेलेको स्मरण गर्दै नेपालमा वीरेन्द्र शिल्डलगायत विभिन्न खेलकुद गतिविधिमा आफू जोडिँदै आएको बताए।

खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै आपसी सम्बन्ध विस्तार र भ्रातृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। आफू अस्ट्रेलियामा समेत विभिन्न खेलकुद गतिविधिमा संलग्न रहेको बताउँदै हमालले सातौँ संस्करणको ‘मिनी ओलम्पिक’ आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मञ्जु भुषालले रुपन्देहीमा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय संस्था खेलकुद क्षेत्रको विकासमा समेत अग्रसर भएकोमा खुसी व्यक्त गरिन्। खेलमार्फत समुदायमा भाइचारा कायम गर्न तथा खेलकुदको विकासमा योगदान पुर्‍याउन पुराना खेलाडीलाई एकै ठाउँमा ल्याउने प्रतियोगिता महत्वपूर्ण हुने उनले बताइन्।

४० वर्षभन्दा माथिको उमेरमा शारीरिक निष्क्रियताका कारण नसर्ने रोगको जोखिम बढ्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न खेलकुद गतिविधिमा सक्रिय हुन आवश्यक रहेको लेखा संयोजक तथा स्वास्थ्यकर्मी विष्णु आचार्यले बताए। प्रतियोगिताले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै नसर्ने रोग न्यूनीकरणमा समेत योगदान पुर्‍याउने उनको भनाइ छ।

You may also like