रियल मड्रिडलाई ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । गए राति भएको खेलमा भिल्लारियललाई दुई एकको गोल अन्तरले हराउँदै रियलले इतिहासमा ३४ औं पटक लिगको उपाधि हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियलले खेलको २९ औं मिनेटमा नै खेलमा अग्रता बनायो । उसका लागि लुका मोड्रिचको पासमा करिम बेञ्जिमाले गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलले ७३ औं मिनेटमा पेनाल्टी पायो । सर्जियो रामोसलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा सर्जियो रामोसले पहिलो पटकको प्रयासलाई मान्यता दिइएन । किनकी उनले आफूले नहानेर बेञ्जिमालाई पास दिन खोजेका थिए । तर फेरि रामोसको सट्टा बेञ्जिमाले प्रहार गरेपछि सहज गोल भयो ।

एकतर्फि जस्तो आक्रमण गरेको रियालले ८२ औं मिनेटमा अर्को उत्कृष्ट मौका पाएको थियो । तर यसपटक रियलका टोनी क्रुसको प्रहार पोष्टमा लागेर फर्कियो । त्यसको एक मिनेटमा भिल्ला रियलले गोल गर्दै अन्तर कम गर्यो । उसका लागि भिसेन्ट इबोर्राले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन र रियल विजयी भयो ।

यता त्यही समयमा भएको खेलमा बार्सिलोना घरेलु मैदानमा ओसासुनासँग दुई एकले हारेपछि रियालले उपाधि पक्का गर्‍यो । बार्सिलोनाको हारमा पाहुना टिमका लागि जोसे अर्नाइजले पहिलो गोल गरेका थिए ।

६२ औं मिनेटमा मेस्सीले फ्री किकमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे पनि ७५ औं मिनेटमा ओसासुना १० खेलाडीमा झरेको थियो । तर पनि उसले इञ्जुरी समयमा रोबर्टो टोरेसको गोलमा दुई एकको जित सुनिश्चित गर्‍यो । योसँगै रियलले एक खेल बाँकी हुँदै लिगको उपाधि पक्का गरेको हो ।

 
 
  
 

You may also like