भारतबाट घर आएका गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । केहि दिन अघि मात्र भारतबाट घर आएका गुल्मी घमिरका एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका वडा नम्वर–७ घमिरका ६३ बर्षीय केयरसिंह बिश्वकर्माको भारतबाट घर आएको दशौं दिनका दिन मृत्यु भएको हो ।

मृत्यु भएपछि गाउँमा कोरोनाको संक्रमणको आशंका स्थानियमा फैलिएको छ । यद्यपी, उनी भारतमै रहँदा पनि लामो समय देखि दमको रोगले ग्रस्त रहेको र सोही विमारले उनको मृत्यु भएको भन्दै वडाध्यक्ष वेदप्रसाद पन्थीले बताए ।

‘उनमा कोराना भाईरस भएको निरर्थक हल्ला हो, दमको रोगी उनलाई ज्वरो समेत आएको पाईएको छैन’ –वडाध्यक्ष पन्थीले भने । उनका अनुसार त्यस वडामा यति बेला भारतबाट २० देखि २५ जनाको संख्यामा वडावासीहरु घर आएका छन् ।

तेश्रो मुलकबाट त्यस वडामा एक जना मात्रै घर आएका छन् । वडाध्यक्ष पन्थीका अनुसार चैत्र ६ गते कतारबाट घमिर सिलादीका देव बहादुर खत्री घर आएका हुन् । घर आएका मध्ये कसैले पनि सेल्फ क्वारेन्टाईनमा बस्न नमानेको वडाध्यक्ष पन्थीको भनाई छ ।

घमिरको भिरवारीको एउटा टोलामा मात्रै ५ जना भारतबाट आएका छन् । बाहिरबाट आउनेहरुलाई राख्ने ब्यवस्था गर्न आईसुलेटरका लागि बेडहरु नभएर समस्या आएको मालिका गाउँपालिका प्रबक्ता तथा वडा नम्वर ६ का वडाध्यक्ष शोभाखर गिरिले बताए ।

 
 
  
 

You may also like