प्रथम लुम्बिनी मार्शल आर्टस् हाप्किडो खुल्ला राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता बुटवलमा हुदै

by समतल अनलाइन

बुटवल । बुटवलमा पहिलो पटक हाप्किडो प्रतियोगिता हुने भएको छ । नेपाल मार्सल आर्टस हाप्किडो संघ, प्रदेश ५ र नेपाल मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा आगमी चैतमा प्रथम लुम्बिनी मार्शल आर्टस् हाप्किडो खुल्ला राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता हुने भएको हो ।

रुपन्देहीको तिलोत्तमामा शुक्रबार पत्रकार सम्मेलन गरी आगामी चैतको २४, २५ र २६ गते राष्ट्रिय स्तरको प्रतियोगिता बुटवलमा गर्न लागेको जानकारी दिइएको हो । प्रतियोगितामा महिला र पुरुष तर्फ २५ देखि ७० केजीसम्मका प्रतिस्पर्धाहरु हुने हाप्किडो प्रदेश ५ का अध्यक्ष सुवास परियारले जानकारी दिए ।

१० स्वर्ण, १० रजत र १० कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ । यसैगरी सेल्फ डिफेन्स र टिम डेमोस्ट्रेसनमा पनि प्रतिस्पर्धा हुने अध्यक्ष परियारले बताए ।

देशभरबाट करिब ५ सय खेलाडीहरु प्रतियोगितामा भाग लिने आयोजकले जनाएका छन् । संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरले नेपालमा २०७३ सालदेखि संस्था मार्फत हाप्किडो खेलाडीहरुलाई संगठित गरिएको भन्दै यो नयाँ खेल समेत भएकाले प्रतियोगितामार्फत सन्देश छर्न सकिने विश्वास लिएको बताए ।

उनले हाप्किडो खेलाडीहरु प्रशस्तै रहेको बताउँदै खेलसँगै पर्यटन प्रवद्र्धनमा समेत सरकारलाई सहयोग गर्न खोजेको बताए ।

भर्खरै मात्र संस्था स्थापना गरेको संघले केही महिनाअघि रोल्पामा शहीद स्मृति मार्सल आर्ट्स हाप्किडो प्रथम राष्ट्रिय च्याप्यिनसिपको आयोजना गरेको थियो भने पोखरामा अन्तर्राष्ट्रिय सेमिनार गरेको केन्द्रीय सदस्य सम्भव बीसीले जानकारी दिए । संघले प्रतियोगिताका लागि ४० लाखको खर्च हुने अनुमान गरेको छ ।

 
 
  
 

You may also like