विराटनगरलाई स्तब्ध पार्दै लुम्बिनी क्वालिफायरमा प्रवेश

by समतल अनलाइन
19Shares

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान सुरक्षित गरेको छ।
विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

लुम्बिनीको जितमा डार्सी सर्ट र आसिफ शेखले समान ४५ रनको योगदान दिए। सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै ११ बलमा अविजित २५ रन बनाए। अन्तिम समयमा रुबेन ट्रम्पलम्यानले एक बलमा छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए।

विराटनगरका अपराजित पौडेलले दुई विकेट लिए भने चारिथ असालंकाले एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो। विराटनगरका चारिथ असालंकाले सर्वाधिक ६४ रन बनाए। उनले ४३ बलमा ६ छक्का र एक चौका प्रहार गरे। यस्तै, शुभम रञ्जनेले अविजित ३१ तथा इमरान शेखले अविजित २४ रन जोडे।

लुम्बिनीका किशोर महतोले दुई विकेट लिए भने रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले समान एक विकेट हात पारे।
यस जितसँगै लुम्बिनी लायन्स ७ खेलबाट ११ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ र क्वालिफायरमा प्रवेश गरेको छ। पराजयसँगै विराटनगर किङ्सको एनपीएल यात्रा भने लिग चरणमै समाप्त भएको छ।

You may also like