नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भारत भ्रमणमा जानुअघि विपक्षी दलसँग संवाद गर्ने अपेक्षा आफूहरूले नराखेको बताएका छन् । बालेनको कार्यशैली अधिनायकवादी भएको उनको आरोप छ ।
पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीसम्बन्धमा सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले बालेनले विपक्षीसँग संवाद गर्ने कुरा आफूहरूले अपेक्षा नराख्ने बताएका हुन् ।
‘राजनीतिक दलसँग संवाद गर्ने कुरा– उहाँको नेचर नै लोकतान्त्रिक छैन, के संवाद गर्ने ? आफ्नै पार्टीसँग संवाद गर्न छाड्नुभयो । प्रतिपक्षसँग संवाद गर्ने कुराको अपेक्षा गर्दैनौं,’ पोखरेलले भने, ‘कार्यशैली नै अलोकतान्त्रिक, स्वेच्छाचारी र अधिनायकवादी छ, त्यसलाई सच्याउनुहोस् भन्ने आग्रह छ ।’
पोखरेलले प्रधानमन्त्रीले सीमा समस्याबारे भारतमा कुरा राख्नुपर्ने आफूहरूको सुझाव रहेको बताए ।
‘मेयर हुँदा उहाँले कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्नुभएको थियो, ग्रेटर नेपाल नभए पनि पछिल्लो पटक गरिएको सीमाङ्कन सुरक्षित गर्ने सरकारको दायित्व बोध गर्नुहोला,’ पोखरेलले भने ।
फरक प्रसंगमा पोखरेलले स्थानीय तह चुनावको तयारीका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताए ।

