फागुनको पहिलो हप्तामा तेस्रो बुटवल लन टेनिस प्रतियोगिता हुने

by समतल अनलाइन

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता फागुनको पहिलो हप्ताबाट हुने भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ११ देविनगरस्थित लन टेनिस कोर्टमा हुने प्रतियोगिताको विभिन्न समिति बनाई तयारी शुरु भएको छ ।

बुटवलमा आज पत्रकार सम्मेलन गरि लन टेनिस खेलको विकासका लागि ब्रान्डका रुपमा प्रतियोगितालाई निरन्तरता दिन लागेको संघका अध्यक्ष सन्जय प्रकाश श्रेष्ठले बताए । ‘प्रतियोगिता फागुन ५ देखि ९ गतेसम्म हुने छ । प्रतियोगिताको पुरुष, महिला एकल तथा पुरुष डबल्स खेलाईने अध्यक्ष श्रेष्ठले बताए ।

पुरुष र महिला एकलतर्फ उपाधि विजेताले नगद ५५ हजार रुपैयासहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि दोस्रो हुने खेलाडीलाई नगद २५ हजार रुपैया तथा तृतिय स्थान हासिल गर्ने खेलाडीलाई नगद १० हजार रुपैयासहित कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि एकलतर्फको ३५ वर्ष उमेर माथिको उपाधि विजेताले ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि ४५ वर्ष उमेरमाथिको विजेताले नगद २५ हजार रुपैया, दोस्रो १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि ५५ वर्ष उमेर माथिका विजेतालाई नगद १५ हजार रुपैया तथा दोस्रो हुनेले नगद ५ हजार रुपैयाबाट पुरस्कृत गरिने छ ।

यसैगरि प्रतियोगिताको पुरुष डबल्सतर्फ उपाधि विजेताले नगद २० हजार रुपैया, दोस्रो हुने टिमले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । डबल्सकै पुरुष ३५ वर्ष तथा ४५ वर्षमाथिका उपाधि विजेतालाई नगद २० हजार रुपैया तथा दोस्रो हुने टिमलाई नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । पुरुष, महिला एकल र डबल्स गरि आठ विद्यामा हुने प्रतियोगितामा एक सय बढी खेलाडीहरु रहने छ । पाच दिनसम्म संचालन हुने प्रतियोगितामा कुल १६ लाख पचासी हजार रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।

संघका उपाध्यक्ष मनोज बस्नेत र सचिव गोपाल ज्ञवालीले प्रतियोगिता सम्पन्न गर्न सबैले साथ र सहयोग आग्रह गरे ।

 
 
  
 

You may also like