‘होस्टेल रिटर्न्स’ ब्वाइ सुशीलको करियर टेको फिल्म ‘लभ डायरीज’

by समतल अनलाइन

फिल्म ‘होस्टेल रिटर्न्स’बाट दर्शकमाझ चिनिएका सुशील श्रेष्ठको त्यसपछिको फिल्मी यात्रा त्यत्ति सफल छैन।फिल्म होस्टल रिटर्न्स सुशीलका लागि सफलताको एउटा रेखा थियो। फिल्मसँगै सुशील रातारात हिट भए। त्यो फिल्मको सफलतासँगै बजारमा उनको माग बढ्न थाल्यो। ‘होस्टेल रिटर्न्स ’पछि सुशील ‘कारखाना’ र ‘सायद-२’ मा हिरो बने।

तर, अफसोच यी दुईटै फिल्म फ्लप भए। रातारात हिट भएका सुशीललाई झट्का लाग्यो।

त्यसपश्चात सुशीलले आफूले आफैलाई फर्केर हेरे। आफ्नै करिअरमा शंका लाग्न थाल्यो। यहाँसम्म कि ती दुई फिल्मको असफलताले अभिनय करिअर नै त्याग्ने सोचसम्म पुगे।

‘दुई-दुुईवटा फिल्म फ्लप भएपछि लाग्यो यो क्षेत्र मेरो लागि होइन कि! दर्शकले मलाई अस्वीकार नै पो गरेका हुन् कि? मस्तिस्कमा यस्ता कुराहरू खेलिरहन्थे,’ केही समयअघि पत्रकार भेटघाटमा सुशीलले भनको थिए, ‘लाग्यो अब, म फिल्म खेल्दिनँ।’

आफ्नै सफलता सुशीलाका लागि भारी भइदियो, यद्यपि करियरको भर्‍याङ चढ्नु थियो।

यो निरश मोडमा नयाँ अवसर बनेर ‘लभ डायरीज’का लागि अफर आयो।

‘फिल्म गर्ने मुडमै थिइनँ,’ उनले भने, ‘तर कहिलेकाहीँ सम्बन्धहरूको दबाव यति हुन्छ कि, नगरी त धरै हुँदैन। उनी थप्छन्, ‘स्क्रिप्ट हेरेँ, राम्रै लाग्यो, अनि काम गरियो।’

अनि बन्यो सुशीलको ‘लभ डायरीज’, यद्यपि उनको ‘लभ डायरीज’भन्दा अघि पनि करियरको चौथो फिल्म ‘बादशाह जुट’ प्रदर्शनमा आएको थियो। तर, उक्त फिल्मले पनि सुशीलको साख जोगाउने हिम्मत राखेन।

निकै लामो समयको पर्खाइपछि सुशील पाँचौं फिल्म ‘लभ डायरीज’ प्रदर्शनको तयारीमा जुटेको छ।

आउँदो फागुन २ गतेका लागि प्रदर्शन मिति तय गरेको फिल्मले प्रचारप्रसारलाई पनि यतिबेला तीव्र बनाएको छ।

यसै क्रममा सोमबार काठमाडौंको कुमारी हलमा पत्रकार सम्मेलनका साथ फिल्मको ट्रेलर सार्वजनिक गरियो।

जहाँ, उनै सुशील र नव-अभिनेत्री रुविना थापाको लभ डायरी प्रस्तुत गरिएको छ। ट्रेलरमा उनीहरूकै माया, प्रेम, घृणा, इष्र्या, मिलनबिछोडलगायत दृश्य देख्न सकिन्छ। सुशील र रुविनाका साथमा देखिएका छन्, कलाकार विश्वजित रिमाल।

सौरभ चौधरीको निर्देशनमा तयार फिल्म प्रणय दिवसको अवसर पारेर पनि प्रदर्शनमा ल्याइँदै छ। यस अर्थमा दर्शकका लागि एउटा उत्कृष्ट ‘लभ डायरी’ पढ्ने/हेर्ने अवसर फिल्मले जुराउने निर्माण युनिटको भनाइ छ।

निर्माण युनिटले भनेझैं फिल्म दर्शकका लागि उत्कृष्ट सावित हुनसके अभिनेता सुशीलाई पनि राहत मिल्नेछ। तीन-तीनवटा फिल्मबाट गुमेको सुशीलकोे साख जोगाउन फिल्म ‘लभ डायरीज’ करियरको टेको बन्ने पक्का छ।

फिल्म सफल भएमा नव-अभिनेत्री रुविना थापाको करियरमा पनि भर्‍याङको काम गर्ने निश्चित देखिन्छ। यससँगै निर्देशक सौरभ चौधरीले यसै फिल्ममार्फत् निर्देशनमा पाइला चालेका छन्। उनको करियरलाई पनि फिल्मको सफलताले खास अर्थ राख्नेछ।

सोमबार सार्वजनिक फिल्मको ट्रेलर

 
 
  
 

You may also like