दीपाश्री निरौलाको ४ सेन्टिमिटरको ब्रेन ट्युमरको सफल शल्यक्रिया, बायोप्सी रिपोर्टको प्रतीक्षा

by समतल अनलाइन
23Shares

काठमाडौँ । चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। ‘छ माया छपक्कै २’ को छायाङ्कनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गराउँदा उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो।

वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको शल्यक्रिया गरेको हो। अभिनेता तथा निर्माता दीपकराज गिरीका अनुसार, दीपाश्रीको मस्तिष्कमा ४ सेन्टिमिटरको ट्युमर थियो। आकारका हिसाबले यो निकै गम्भीर मानिए पनि शल्यक्रिया सफल भएको छ। हाल उनी आइसियूबाट जनरल वार्डमा सारिएकी छिन् र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।

४ सेन्टिमिटरको ट्युमरले मस्तिष्कका संवेदनशील भागहरूमा दबाब दिने भएकाले उनको तत्काल शल्यक्रिया गरिएको थियो। चिकित्सकहरूका अनुसार, मस्तिष्कको ट्युमरको प्रकृति यसको स्थान र फैलावटमा भर पर्दछ। यदि ट्युमर बेनाइन (क्यान्सर नभएको) प्रकृतिको भएमा शल्यक्रियाबाट पूर्ण निको हुने सम्भावना बढी हुन्छ, तर यदि यो म्यालिग्नेन्ट (क्यान्सरयुक्त) भएमा उपचार प्रक्रिया केही जटिल हुन सक्छ।

अहिले शल्यक्रियामार्फत निकालिएको ट्युमरको नमूना परीक्षण (बायोप्सी) का लागि पठाइएको छ। बायोप्सी रिपोर्ट आएपछि मात्रै ट्युमरको प्रकृति र थप उपचारको दिशा यकिन हुनेछ। दीपाश्रीको स्वास्थ्यलाभको कामना गर्दै उनका प्रशंसक तथा शुभचिन्तकहरूले सामाजिक सञ्जालमा सन्देशहरू प्रवाह गरिरहेका छन्।

You may also like