बुटवलमा ‘आ बाट आमा–२’ को भव्य मेगा कन्सर्ट, पल शाहलाई स्टेज चढ्नै धौ–धौ

by समतल अनलाइन
18Shares

बुटवल । नेपाली चलचित्र ‘आ बाट आमा–२’ को प्रचारप्रसारका लागि देश दौडाहामा रहेका कलाकारहरूले बुटवलमा भव्य मेगा कन्सर्ट गरेका छन्। बुटवलको गोलपार्कमा आयोजित कन्सर्टमा हजारौँ दर्शकको उपस्थिति रहेको थियो। चलचित्रका कलाकार तथा गायक–गायिकाहरूको प्रस्तुतिले कन्सर्टलाई थप उत्साहपूर्ण बनाएको थियो।

कन्सर्टमा सहभागी हुन बुटवल आइपुगेका कलाकारहरूलाई विमानस्थलमा चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष मोहन न्यौपाने, वरिष्ठ चिकित्सक डा. मुक्ति शर्मा दम्पती तथा पत्रकारहरूले स्वागत गरेका थिए।

कन्सर्टमा चलचित्रका कलाकारहरू विपना थापा, पल शाह, आकाश श्रेष्ठ, मालिका महत, निकिता आचार्य र रिस्ता गुरुङसँगै गायक बाबुल गिरी तथा गायिकाहरू गंगा सोनाम, जुरीलगायतको सहभागिता रहेको थियो।

पल शाहलाई स्टेज चढ्नै धौ–धौ, विपना थापालाई देख्दा दर्शक उत्साहित

कन्सर्टमा नायक पल शाहप्रति दर्शकको आकर्षण विशेष देखिएको थियो। मालिका महतसँगै बुटवल आएका पल शाहलाई स्टेजसम्म पुग्नै धौ–धौ परेको थियो। पलका प्रशंसकहरूको ठूलो भीड र उत्साहका कारण कार्यक्रमस्थलमा रौनक थपिएको थियो।

लामो समयपछि अभिनेत्री विपना थापालाई प्रत्यक्ष देख्न पाउँदा दर्शकले ताली र हुटिङमार्फत स्वागत गरेका थिए। उनको उपस्थितिले दर्शकमा छुट्टै उत्साह थपेको थियो।
त्यस्तै, नायक आकाश श्रेष्ठ र नायिका निकिता आचार्यको नृत्यमा दर्शकहरू झुमेका थिए। गायक बाबुल गिरी र गायिका गंगा सोनामले आफ्ना गीत प्रस्तुत गर्दा दर्शकले भरपूर मनोरञ्जन लिएका थिए। उनीहरूको प्रस्तुतिपछि दर्शकले ‘वान्स मोर’ भन्दै फेरि गीत गाउन आग्रह गरेका थिए।
कलाकारहरूले चलचित्रको प्रचारका क्रममा हालै सार्वजनिक गरिएको दसैँ गीतमा समेत नृत्य प्रस्तुत गरेका थिए। कन्सर्टको सञ्चालन सुमन श्रेष्ठले गरेका थिए।
होटल पौवामा पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया

मेगा कन्सर्टअघि बुटवलस्थित होटल पौवामा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष मोहन न्यौपानेको संयोजनमा सम्पन्न कार्यक्रममा चलचित्रका कलाकारहरूले ‘आ बाट आमा–२’, देशव्यापी प्रचार अभियान र कन्सर्टका विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा पत्रकारहरूले चलचित्र तथा कलाकारसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। कलाकारहरूले ती जिज्ञासाको जवाफ दिँदै चलचित्रको प्रचारप्रसार, दर्शकको अपेक्षा र नेपाली चलचित्र क्षेत्रका विविध विषयमा धारणा व्यक्त गरेका थिए।
पत्रकार भेटघाटले कलाकार र सञ्चारकर्मीबीच प्रत्यक्ष संवादको अवसर प्रदान गरेको थियो।

असोज ३० गतेदेखि प्रदर्शनमा ‘आ बाट आमा–२’

प्रेस भेटघाट तथा मेगा कन्सर्टका क्रममा कलाकारहरूले दर्शकलाई चलचित्र हेर्न आग्रह गरेका छन्। दर्शकको माया र साथले आफूहरूलाई थप उत्साहित बनाएको बताउँदै उनीहरूले आगामी असोज ३० गतेदेखि सिनेमा हलमा पुगेर ‘आ बाट आमा–२’ हेर्न अनुरोध गरेका हुन्।
बुटवलमा आयोजित मेगा कन्सर्टले चलचित्रको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउनुका साथै कलाकार र दर्शकबीच प्रत्यक्ष भेटघाटको अवसरसमेत सिर्जना गरेको छ। हजारौँ दर्शकको सहभागिता, कलाकारको आकर्षक प्रस्तुति र प्रशंसकहरूको उत्साहले कन्सर्टलाई भव्य र स्मरणीय बनाएको थियो।

You may also like