बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा दर्शकको आकर्षण बढ्दै गएको छ। शनिबार मेलामा देखिएको उल्लेख्य भीडले आयोजकलाई थप उत्साहित बनाएको छ।
मेला मूल आयोजक समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीका अनुसार शनिबार मात्रै २५ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरेका छन्। बिहानैदेखि मेलास्थलमा दर्शकको चहलपहल बढेको थियो।

औद्योगिक तथा व्यापारिक सामग्रीको प्रदर्शनी र बिक्रीसँगै सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक प्रस्तुति तथा विभिन्न आकर्षणले मेलामा दर्शकको सहभागिता बढाएको आयोजकको भनाइ छ।
मंसिर ३ गतेदेखि ‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि’ भन्ने नारासहित सुरु भएको मेला मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ। मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि र पर्यटनसँग सम्बन्धित सामग्री तथा सेवाको प्रदर्शनी र बिक्री भइरहेको छ।
तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा मेला मूल आयोजक समितिका सहसंयोजक सुरज पंगेनीले उद्योग, व्यापार र कृषिको प्रवर्द्धनसँगै सीप, उद्यमशीलता र सेवामूलक व्यवसायलाई एउटै थलोमा जोड्ने उद्देश्यले मेला आयोजना गरिएको बताए। उनका अनुसार कृषि तथा पर्यटन क्षेत्रका उत्पादन र गतिविधिलाई मेलामा विशेष प्राथमिकता दिइएको छ।
मेलामा व्यापारिक गतिविधिसँगै कला, संस्कृति र मनोरञ्जनका कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्। पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामका कलात्मक संरचना, रामायण शो, बालउद्यान, तिलोत्तमा आरती तथा विभिन्न सांस्कृतिक प्रस्तुतिले दर्शकको ध्यान खिचेका छन्। तिलोत्तमाका पर्यटकीय गन्तव्य र नेपाल आरोग्य वर्ष २०२७ को प्रचारप्रसारका लागि पर्यटन ग्यालरीसमेत राखिएको छ।
यसैबीच, शनिबार मेलाको सांगीतिक कार्यक्रममा लोकप्रिय गायक बद्री पंगेनी, गायिका प्रीति आलेलगायत कलाकारले प्रस्तुति दिएका थिए। कलाकारको प्रस्तुति हेर्न र सुन्न ठूलो संख्यामा दर्शक उपस्थित भएका थिए।
व्यापार, पर्यटन, कृषि र मनोरञ्जनलाई एकैसाथ समेटेको मेलामा बढ्दो दर्शक सहभागिताले आयोजकलाई थप उत्साहित बनाएको छ।

