भाइ शिवुको आलोचनापछि गायक अर्जुन सापकोटाको स्पष्टीकरण, भने– ‘आफ्नै गाउँमा रमाउन गएको थियो’

by समतल अनलाइन
33Shares

बुटवल । गायक अर्जुन सापकोटाले आफ्ना भाइ शिवुलाई लिएर तिलोत्तमा मेलामा भएको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
तिलोत्तमामा कार्यक्रम हुने थाहा पाएपछि भाइ शिवुले आफ्नै गाउँ, गाउँले, साथीभाइ र आमाबुबासँग भेट्ने इच्छा देखाएको अर्जुनले बताएका छन्। भाइको इच्छालाई सम्मान गर्दै आफ्नै व्यक्तिगत खर्चमा उनलाई कार्यक्रममा सँगै लगेको र कार्यक्रम सकिएपछि सँगै फर्किएको उनले उल्लेख गरेका छन्।
तर कार्यक्रममा भाइको सहभागितालाई लिएर विभिन्न टिप्पणी र मजाक हुन थालेपछि शिवु निकै दुःखी भएको अर्जुनको भनाइ छ। दुई दिनसम्म भाइ मानसिक रूपमा दुखी हुँदै ‘दाइ, मैले गर्दा तपाईंलाई गाह्रो भयो नि, मैले जाने इच्छा गरेँ’ भन्दै बसिरहेको उनले बताएका छन्।
भाइको यही अवस्थापछि आफूले वास्तविकता सार्वजनिक गर्नुपरेको अर्जुनले उल्लेख गरेका छन्।
उनका अनुसार मेला महोत्सवको मञ्च राष्ट्रिय स्तरमा स्थापित कलाकारका लागि मात्रै नभई स्थानीय कलाकार, मनोरञ्जन क्षेत्रमा काम गरिरहेका व्यक्ति र दर्शकलाई रमाइलो गराउन सक्ने अन्य व्यक्तित्वका लागि पनि हो। शिवु आफूलाई ठूलो कलाकारका रूपमा प्रस्तुत गर्न वा कसैको अवसर खोस्न नभई आफ्नै ठाउँमा पुगेर आफ्ना मान्छेहरूसँग रमाउन गएको उनले स्पष्ट पारेका छन्।
अर्जुनका अनुसार शिवुले चलचित्रमा क्यामियो भूमिका निर्वाह गर्नुका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेका छन्। विभिन्न कलाकारसँग सहकार्य गरेका शिवुलाई अहिले पनि दर्शकले चिन्ने, फोटो खिच्ने तथा अन्तर्वार्ता र पोडकास्टमा बोलाउने गरेका छन्।

You may also like