एमबीबीएसमा २२ र इन्जिनियरिङमा ३० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, कालिकाका विद्यार्थी सम्मानित

by समतल अनलाइन
29Shares

बुटवल। बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले एमबीबीएस तथा इन्जिनियरिङतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान गरेको छ।

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई नगद पुरस्कार र मायाको चिनोसहित सम्मान गरिएको हो।

विद्यालयबाट एमबीबीएसतर्फ २२ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन्। तीमध्ये एक जना विद्यार्थी उत्कृष्ट १० भित्र पर्न सफल भएका छन्। त्यस्तै, इन्जिनियरिङतर्फ ३० जना विद्यार्थीले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्।

बीएएमएसतर्फ आकाश मिश्र नेपाल प्रथम र इशान ज्ञवाली दोस्रो भएका छन् भने बीएस्सी नर्सिङतर्फ तीन जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन्। एमबीबीएसतर्फ शिशिर मल्ल उत्कृष्ट १० भित्र पर्न सफल भएका छन्। उनी एसईई परीक्षामा पनि कालिका मानवज्ञानबाटै ४ जीपीए ल्याएर उत्तीर्ण भएका थिए।

एउटै सामुदायिक विद्यालयबाट चिकित्सा र इन्जिनियरिङतर्फ ठूलो संख्यामा विद्यार्थी पूर्ण छात्रवृत्तिमा छनोट हुनु गौरवको विषय भएको विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताए। शिक्षक, विद्यार्थी र अभिभावकको निरन्तर मेहनत तथा सहकार्यले यो उपलब्धि हासिल भएको उनको भनाइ थियो।

विद्यालयका विज्ञान संकाय संयोजक कृष्ण अधिकारीले योजनाबद्ध पठनपाठन, नियमित मूल्यांकन र अतिरिक्त तयारी कक्षाले विद्यार्थीको सफलतामा सहयोग पुगेको बताए। कक्षा ११ र १२ देखि नै चिकित्सा तथा इन्जिनियरिङ प्रवेश परीक्षालाई लक्षित गरी तयारी गराउने गरिएको उनले जानकारी दिए।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख पन्थीले सामुदायिक विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने भाष्यलाई कालिकाले चिर्न सफल भएको बताए। सामुदायिक विद्यालयले पनि गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रदान गर्न सक्छन् भन्ने कुरा यस नतिजाले प्रमाणित गरेको उनको भनाइ थियो।

विद्यालयका पूर्वप्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पस प्रमुख घनश्याम पाठकले कालिकाको सफलताले सामुदायिक शिक्षाको पहिचान थप बलियो बनाएको बताए।

कार्यक्रममा एमबीबीएसतर्फ उत्कृष्ट १० भित्र पर्न सफल शिशिर मल्ल र इन्जिनियरिङतर्फ २७औँ स्थानमा नाम निकाल्न सफल आरोहण तिवारीले पनि आफ्नो अनुभव सुनाएका थिए। उनीहरूले निरन्तर मेहनत र विद्यालयको शैक्षिक वातावरणले सफलतामा सहयोग पुगेको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रमणि अर्याललगायतले विद्यालयले शैक्षिक उपलब्धिसँगै दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकता दिएको बताए।

सो अवसरमा उत्कृष्ट नतिजा ल्याउन योगदान गर्ने शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष नित्यानन्द ज्ञवाली, कालिका क्याम्पसका अध्यक्ष होमबहादुर गलामी, शिक्षा विकास तथा समन्वय इकाईका शिक्षा शाखा अधिकृत झविलाल विक, अभिभावकलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सहप्राचार्य दीपक बञ्जाडेले गरेका थिए।

८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत कालिका मानवज्ञान माध्यमिक विद्यालय देशकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयका रूपमा परिचित छ।

You may also like