देउसी–भैलोबाट संकलित रकम वृद्धाश्रममा सहयोग, बुटवल विद्यार्थी क्लबद्वारा न्यानो कपडा र खाद्यान्न वितरण

by समतल अनलाइन
58Shares

बुटवल । चाडपर्वमा देउसी–भैलो खेलेर संकलन गरेको रकम सामाजिक सेवामा खर्च गर्दै बुटवल विद्यार्थी क्लबले वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेको छ।

क्लबले शनिबार बुटवल उपमहानगरपालिका–२, तल्लो फुलबारीस्थित श्री सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैँजु वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई आवश्यक सामग्री हस्तान्तरण गरेको हो।

बुटवल–११, देवीनगरमा रहेको क्लबले यस वर्षको देउसी–भैलो कार्यक्रममार्फत संकलन भएको सहयोग रकमबाट चिसो मौसमलाई लक्षित गरी न्यानो कपडा र खाद्यान्न वितरण गरेको जनाएको छ।

क्लबका अनुसार देउसी–भैलोबाट संकलित रकमलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृद्धाश्रममा रहेका आमाबुवालाई सहयोग गरिएको हो। ज्येष्ठ नागरिकको मुहारमा देखिएको खुसी र आशीर्वाद नै कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धि भएको क्लबले जनाएको छ।

कार्यक्रम सफल बनाउन देउसी–भैलोका क्रममा सहयोग गर्ने टोलवासी, अभिभावक तथा शुभचिन्तकप्रति क्लबले आभार व्यक्त गरेको छ। त्यस्तै, उच्च शिक्षाका लागि विदेशमा रहेका क्लबका पूर्वविद्यार्थी तथा पूर्वसदस्यहरूले समेत आर्थिक सहयोग गरेर अभियानमा साथ दिएका थिए।

यस अभियानमा सहकार्य गर्ने संस्था 4KO र ब्राइट भिजन एजुकेसनलाई पनि क्लबले धन्यवाद दिएको छ।

क्लबका संस्थापक अध्यक्ष अर्जुन शाह ठकुरीको नेतृत्वमा आयोजित सहयोग वितरण कार्यक्रमको देउसी–भैलो तथा सहयोग वितरण संयोजन प्रशान्त थापा र रोशन थापाले गरेका थिए। आर्थिक संयोजन मोनिका कुँवर र मनोज श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन डेनिस गाहाले गरेका थिए।

क्लबले आगामी दिनमा पनि मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ। साथै, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकसँग समय बिताउन र उनीहरूको अवस्था बुझ्न स्थानीयवासीलाई समेत क्लबले आग्रह गरेको छ।

You may also like