तिलोत्तमा मेला : मेकअप प्रतियोगितामा सुस् ब्युटिपार्लरकी सुस्मा पाण्डे प्रथम

by समतल अनलाइन
48Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नवौँ राष्ट्रिय औद्योगिक व्यापार मेलामा आयोजित मेकअप प्रतियोगितामा सुस् ब्युटिपार्लरकी सञ्चालक सुस्मा पाण्डे प्रथम भएकी छन्।

तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा शनिबार भएको प्रतियोगितामा मायाज् हेयर एण्ड ब्युटी सलुनकी सञ्चालक योगमाया कँडेल दोस्रो र साइरा ब्युटिपार्लरकी सञ्चालक सनम थापा तेस्रो भएका छन्।

प्रतियोगितामा प्रथम भएकी पाण्डेले १० हजार रुपैयाँ, दोस्रो भएकी कँडेलले ७ हजार र तेस्रो भएकी थापाले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। उनीहरूलाई प्रमाणपत्र र गिफ्ट ह्याम्परसमेत प्रदान गरिएको थियो।

ब्यूटी एक्स्पोकी संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य अञ्जना केसीका अनुसार प्रतियोगितामा १२ जना ब्युटिसियनले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको निर्णायकमा सौन्दर्य विज्ञ तथा बुटवल उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य रेनु श्रेष्ठ र सिद्धार्थनगर उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य पल्लवी न्यौपाने रहेका थिए।

सौन्दर्य व्यवसायको प्रवर्द्धन, ब्युटिसियनको सीप प्रदर्शन र उनीहरूलाई व्यावसायिक रूपमा प्रोत्साहित गर्ने उद्देश्यले मेलामा ब्यूटी एक्स्पो सञ्चालन गरिएको आयोजकले जनाएको छ।

एक्स्पोमा ६ वटा ब्युटिपार्लरका स्टल राखिएका छन्। ती स्टल आयोजकले निःशुल्क उपलब्ध गराएको मेला मूल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए।

मेलामा रहेका करिब ३२५ स्टलमध्ये सौन्दर्य व्यवसायसँग सम्बन्धित स्टललाई निःशुल्क स्थान उपलब्ध गराएर व्यवसाय प्रवर्द्धनमा सहयोग गरिएको उनले बताए। एक्स्पोले सौन्दर्य व्यवसायमा आबद्ध महिलालाई आफ्नो सीप, क्षमता र सेवा प्रदर्शन गर्दै सम्भावित ग्राहकसँग जोडिने अवसर दिएको छ।

‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि’ भन्ने नारासहित मंसिर ३ गतेदेखि तिलोत्तमाको मणिग्राममा सुरु भएको मेला १४ दिनसम्म सञ्चालन हुनेछ।

मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्रीको प्रदर्शनी र बिक्रीसँगै सांस्कृतिक कार्यक्रम, रामायण शो, बालउद्यान, तिलोत्तमा आरती तथा विभिन्न धार्मिक र पर्यटकीय स्थलका कलात्मक संरचनासमेत राखिएका छन्।

You may also like