श्रम संस्कृति पार्टी रास्वपाको विकल्प बन्दैछ : ध्रुवराज राई

by समतल अनलाइन
36Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा जनताले स्वीकार गर्न थालेको दाबी गरेका छन्।

आइतबार बागमती प्रदेश कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश तथा हातेमालो कार्यक्रममा बोल्दै सांसद राईले पछिल्लो समय श्रम संस्कृति पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको बताए।

उनले राजनीतिक विश्लेषक, जनता तथा विभिन्न राजनीतिक दलले समेत श्रम संस्कृति पार्टीलाई रास्वपाको विकल्पका रूपमा हेर्न थालेको दाबी गरे। यद्यपि, विकल्पका रूपमा स्वीकार हुन थालेको भन्दै मात्रै सन्तुष्ट भएर बस्न नहुने उनको भनाइ थियो।

राईले पार्टी संगठनलाई अझ बलियो बनाउन टोल–टोलसम्म पुगेर संगठन विस्तार गर्नुपर्नेमा जोड दिए। जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै पार्टी निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै राईले विभिन्न क्षेत्रबाट श्रम संस्कृति पार्टीमा प्रवेश गर्नेहरूको संख्या पनि बढिरहेको दाबी गरे।

पुराना राजनीतिक दलप्रति जनतामा बढ्दै गएको असन्तुष्टिलाई नयाँ राजनीतिक शक्तिले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो। देशको समृद्धि, सुशासन र राजनीतिक परिवर्तनका लागि नयाँ दलहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

You may also like