आज देशभर मनसुनी गतिविधि सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन
39Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ।

हाल देशभर सामान्यतया बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, मधेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

रातिको समयमा देशका पहाडी भू–भागका केही स्थानमा तथा तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। साथै, कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

You may also like