काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको भोटेकोसीमा गएको बाढीपहिरोपछि उद्धार, राहत र पुनर्निर्माणमा सरकार अझ प्रभावकारी ढंगले अघि बढ्नुपर्ने बताएका छन्।
एमाले महासचिव शंकर पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन बुझाउने कार्यक्रममा आइतबार च्यासलमा बोल्दै ओलीले विपत्तिको समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा उद्धार र राहतलाई प्राथमिकता दिनुपर्ने बताए।
ओलीले अहिले देश दुःख र शोकमा रहेकाले शोकमा मात्रै सीमित नभई पीडितको पीडा कम गर्ने काममा सबै जुट्नुपर्ने बताए।
‘हामी शोकाकुल भएर मात्रै बस्न सक्दैनौँ। पीडामा परेकाहरूको पीडा कसरी कम गर्न सकिन्छ भन्नेमा लाग्नुपर्छ,’ उनले भने।
मानवीय क्षति अपूरणीय रहेको उल्लेख गर्दै ओलीले भौतिक क्षति समयसँगै पुनर्निर्माण गर्न सकिने भए पनि ज्यान गुमाएकाहरूलाई फर्काउन नसकिने बताए।
‘जनको क्षति अपूरणीय हो। धनको क्षति तत्काललाई असुविधा हुन सक्छ, पछि मानिसहरूले मेकअप गर्दै जालान्। जुन जीवनको क्षति भएको छ, त्यो अति नै पीडादायक, असाधारण र उम्किने अवस्था पनि नराखी भएको छ,’ उनले भने।
उनले अहिलेको विपत्तिलाई राष्ट्रिय शोक र पीडाको विषयका रूपमा लिनुपर्ने बताए। यस्तो अवस्थामा राजनीतिक प्रतिस्पर्धा वा श्रेयको होडबाजी नगरी साझा रूपमा संकट समाधान गर्नुपर्ने उनको भनाइ थियो।
‘यो विपत्ति राष्ट्रिय शोक र पीडाको समय हो। यतिबेला कसैले पनि यो राष्ट्रिय शोकका बेला, पीडाका बेला, जनता मारमा परेका बेला राजनीति गर्नु हुँदैन। यो साझा पीडा हो। यस पीडालाई समाधान गर्ने पनि साझा दायित्व हो,’ ओलीले भने।
उनले सरकारलाई राज्यकोष उदारतापूर्वक परिचालन गरेर नागरिकको उद्धार, राहत र पुनर्निर्माणमा खर्च गर्न आग्रह गरे।
‘केन्द्र, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्छ’
ओलीले विपत्तिको सामना गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
‘केन्द्र सरकारको राजधानी भएकै प्रदेशमा घटना भएकाले देख्न बुझ्न पनि सजिलो छ। यसको गहिराई र मर्म बुझ्न पनि सजिलो छ। यो बेला केन्द्र, प्रदेश र स्थानीय तीनै सरकार मिलेर काम गर्नुपर्छ,’ उनले भने।
यही विषयलाई ध्यानमा राखेर एमालेले भदौ १० गते नै सचिवालय बैठक राखेर विपत्तिको गम्भीरताबारे छलफल गर्दै साझा उत्तरदायित्वको धारणा अघि सारेको ओलीले बताए।
तर, उनले सरकारको उद्धार तथा राहत व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै सरकार साधनस्रोत हुँदाहुँदै पनि प्रभावकारी रूपमा परिचालन हुन नसकेको आरोप लगाए।
‘सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बसेको छ। सरकार एक ढंगले भन्दा अगम्य, अप्राप्य स्थितिमा छ। अदृश्य जस्तो अवस्थामा सरकार छ,’ ओलीले भने।
उनका अनुसार प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्थामा केन्द्र सरकारबाट पर्याप्त समन्वय हुन सकेको छैन।
‘माउन्टेनियर रेस्क्यु संस्थालाई खोजीमा सहभागी गराइएन’
ओलीले उद्धारका लागि दक्षता र अनुभव भएका माउन्टेनियर तथा रेस्क्यु संस्थालाई समेत परिचालन गर्नुपर्ने बताए।
‘एकछिनका लागि हेलिकप्टर लिए पनि माउन्टेनियर रेस्क्युसम्बन्धी संस्था छन्। उनीहरूलाई खोज कार्य गर्न पनि दिइएन। उनीहरूको दक्षता पनि दिइएन,’ उनले भने।
उनले विपद्को समयमा सबै राजनीतिक दलले श्रेयको होडबाजी नगर्ने र सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको स्मरण गरे।
‘सबै राजनीतिक दलले श्रेयको होडबाजी नगर्ने भनेकै थिए। सबैको संयुक्त प्रयासबाट समाधान खोज्ने, यसमा राजनीति गर्दैनौँ, सरकारलाई सघाउँछौँ भनेको हो,’ ओलीले भने।
उनले सरकारले सर्वदलीय बैठक गरेको आफूले सुने पनि त्यसबाट के निष्कर्ष निस्कियो भन्नेबारे आफूलाई जानकारी नभएको बताए।
‘यो एकल प्रयासबाट सफल हुने विषय होइन। यसमा सबै लागेर सफल हुने हो। यो साझा विपत्ति हो, साझा संकट हो। यसलाई साझा रूपमै समाधान गर्न सरकार अग्रसर होस्,’ उनले भने।
एमालेलाई बदनाम गराउन खोजियो
ओलीले बाढीपीडितका लागि एमालेले पठाएको राहतका विषयमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले तोडमोड गरेर प्रचार गरेको आरोप पनि लगाए।
उनले एमालेले राहत सामग्री पठाइरहेको र स्थानीय तहमा त्यसको वितरणसमेत भइरहेको दाबी गरे।
‘सामाजिक सञ्जालहरू पनि कतिपय सञ्चारमाध्यमहरू पनि तोडमोड गरेर एमालेलाई खुइल्याउने काम भइरहेका छन्। हामीले राहत पठाउँदैछौँ,’ ओलीले भने।
एमालेको राहत अभियानलाई गलत ढंगले प्रस्तुत गरिएको भन्दै उनले आलोचना गर्नेहरूप्रति आक्रोश व्यक्त गरे।
‘आजको बाढीले अस्ति जोगिएका घर पनि बगायो’
ओलीले रसुवामा आइतबार आएको बाढी पनि निकै ठूलो र विनाशकारी रहेको बताएका छन्। उनले स्थानीय जनप्रतिनिधिहरूसँग आफू निरन्तर सम्पर्कमा रहेको जानकारी दिए।
‘म बागमतीका मुख्यमन्त्री किरणा थापा मगर, गोसाइँकुण्डका अध्यक्ष कैसालङ लामा, उत्तरगयाका अध्यक्ष माधव अर्यालसँग र मेलुङका अध्यक्षसँग पनि सम्पर्कमै छु,’ उनले भने।
उनका अनुसार आइतबार आएको बाढीले यसअघि जोगिएका कतिपय घरसमेत बगाएको छ।
‘आज गएको बाढी पनि धेरै ठूलो छ। आजको बाढीले अस्ति जोगिएका धेरै घर बगाएको छ। आजको बाढी पनि उस्तै विनाशकारी छ। पानी पनि धेरै ठूलो भोलुममा आएको छ। अस्तिको विनाश गराएको जस्तै बाढी ठूलो छ तर करेन्ट कम छ। यस्तो बाढी गइरहेको छ,’ ओलीले भने।
ओलीले विपत्तिको समयमा राजनीतिक विवाद र आरोप–प्रत्यारोपलाई थाती राखेर तत्काल उद्धार, राहत र पुनर्निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

