गोरखा । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीमा परेर बेपत्ता भएका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्ट गोरखामा मृत अवस्थामा भेटिएका छन्। त्रिशूली नदीमा आएको बाढीमा परेका विष्टको शव गोरखास्थित त्रिशूली नदी किनारमा फेला परेको हो।
३४ वर्षीय विष्ट पाल्पाको तानसेन नगरपालिका–१० का स्थानीय हुन्। उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा पोस्टमार्टम गरेपछि परिवारले बुझेका छन्।
गोरखामा बाढीपछि भेटिएका ५८ वटा शवमध्ये हालसम्म तीन जनाको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। सनाखत हुनेमा विष्टसहित इलामको सन्दकपुर गाउँपालिका–३ घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय दीपक भन्ने दिवासनन्द सुवेदी र गोरखाको पालुङटार नगरपालिका–६ का यमबहादुर थापा रहेका छन्। उनीहरूको पनि पोखरामा पोस्टमार्टमपछि शव परिवारलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।
शव व्यवस्थापनका लागि अन्य विकल्प नभएपछि प्रहरीले २९ वटा शव गोरखाको शहीद लखन गाउँपालिका–बुंकोट घाटमा गाडेर व्यवस्थापन गरेको छ। पहिचान भएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार शव माटोमुनि गाडेर व्यवस्थापन गरिएको डीएसपी श्रेष्ठले बताएका छन्।

