बुटवल।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन–प्याब्सन) का केन्द्रीय महासचिव प्रकाश खड्काले संगठनको आधिकारिकताका विषयमा आफूहरूले प्रमाण दिइरहनुपर्ने अवस्था नरहेको बताएका छन् । एन–प्याब्सन रुपन्देहीको ११औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै महासचिव खड्काले संगठनको नाम र संरचनालाई दुरुपयोग गर्ने स्वार्थ समूहका कारण समस्या सिर्जना भएको बताए ।
उनले एउटै नामलाई लिएर विवादमा अल्झिरहनुभन्दा संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विकल्प खोज्न समेत आग्रह गरे । ‘एन–प्याब्सनले अब ३५ दिने सूचना जारी गर्नेछ ।’– उनले भने । उक्त अवधिमा सदस्यता नियमित नवीकरण गर्ने तथा संगठनका कार्यक्रममा सक्रिय रूपमा सहभागी हुनेलाई मात्र सदस्यका रूपमा मान्यता दिने उनले बताए । उनले नेतृत्वको कर्म र भूमिकाका आधारमा संगठनमा सदस्यहरू एकताबद्ध हुने उल्लेख गर्दै कोठामा बसेर मात्र सदस्यता वृद्धि गर्न नसकिने बताए । संगठन विस्तारका लागि नेतृत्वले विद्यालय तथा सदस्यहरूसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने उनको भनाइ थियो । शिक्षा, स्वास्थ्य र परराष्ट्र राष्ट्रको मुल नीति हुनुपर्ने, आधारभुत तहसम्म नेपालको भाषा, संस्कृति रितिरिवाज झल्किने किसिमको पाठ्यक्रम तयार हुनुपर्ने तथा नीजि विद्यालय उद्यमका रुपमा विकास गर्नुपर्ने उनको दाबी छ ।
शनिबार एक समारोहका बिच एनप्याब्सनका केन्द्रिय अध्यक्ष सुभाष न्यौपानेले उद्घाटन गर्दै एन प्याब्सन नितान्त शिक्षाकर्मीहरुको संगठन भएको भन्दै विद्यार्थीहरुलाई केन्द्रमा राखेर काम गर्ने बताए । ‘यो संगठनको मुख्य चार कामहरु गर्दै आएको छ ।’– उनले भने । निजी विद्यालयहरुको हकहितलाई संरक्षण गर्ने सम्र्बद्धन गर्ने, विद्यालयहरुलाई ब्यवस्थित गर्ने काम गर्दै आएको बताए । यसैगरि गुणस्तरीय शिक्षा, संगठनको मेरुदण्डको रुपमा रहेका शिक्षककर्मचारीको हित र क्षमता विकास साथै सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत काम गर्दै आएको उनले बताए ।
रुपन्देही अध्यक्ष बाबुराम बन्जाडेले केन्द्रको निर्देशन र वार्षिक कार्ययोजना अनुसार जिल्लामा विद्यालय, शिक्षकहरुको गुणस्तर वृद्धिसंगै क्षमता विकासका कार्यक्रम चलाएको बताए ।
कार्यक्रममा अभिभावक संघ नेपालका अध्यक्ष लोकनाथ ज्ञवालीले सीपयुक्त शिक्षा आजको आवश्यकता भएको बताए । देशमा उत्पादन भएको दक्ष बेरोजगार जनशक्ति विदेशिने अवस्था रहेको भन्दै त्यसलाई रोक्न पनि सीपयुक्त शिक्षा तर्फ जोड दिनुपर्ने बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्यालले निजि विद्यालयहरुको सिको गर्दै धेरै सामुदायिक विद्यालय उत्कृष्ट बन्न सफल भएको दाबी गरे । निजि विद्यालयहरु अब नया अवधारणा ल्याउन नसके देशको राजनितिक दलहरुलाई आरोप लगाएजसरी नै असफल हुने दाबी गर्दै परिवर्तन आवश्यक भएको बताए । संगठन र विद्यालयलाई केन्द्रमा राखेर अघि बढ्न उनले सुझाव दिए । सामुदायिक विद्यालय र नीजि विद्यालयमा अध्ययरत विद्यार्थीहरुमा सरकारबाट विभेद भएको भन्दै उनले यो विषय केन्द्रबाट नै उठान गर्नुपर्ने बताए । कार्यक्रममा पुस्तक ब्यवसायी संघका अध्यक्ष गोपाल बश्यालले सरोकारवाला संस्थाहरु एकतावद्घ भएमात्र अधिकार प्राप्तीमा सफलता मिल्ने बताए ।
कार्यक्रममा उत्कृष्ट पत्रकारिता पुरस्कार स्वस्तिक श्रेष्ठ र उत्कृष्ट सामाजिक ब्यक्तित्व सम्मान अभिभावक संघ नेपालका अध्यक्ष लोकनाथ ज्ञवालीलाई दोसल्ला, सम्मानपत्रबाट सम्मान गरिएको छ । यसैगरि एन प्याब्सनको आचारसंहिता पालना गरेका विद्यालयहरु बुटवल ग्लोरी ई बोर्डिङ स्कुल, ग्लोरी बोर्डिङ स्कुल, सेन्ट जोसेफ, सिद्धार्थ पब्लिक बोर्डिङ स्कुल, मोर्डन पब्लिकलाई सम्मान गरिएको थियो । यसैगरि अनुगमन समितिका केन्द्रिय सचिव बालाराम तिवारी, जिल्ला सचिव अमित गुप्ता र कोषाध्यक्ष कमल पौडेललाई पनि विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी सास्कृतिक नगरपालिकाका कार्यबाहक मेयर कल्पना हरिजन, एनप्याब्सनका केन्द्रिय उपमहासचिव कृष्ण प्रसाद पौडेल, केन्द्रिय सल्लाहकार राजु गुरुङ, संस्थाका पूर्वअध्यक्ष देउप्रकाश राईले सरोकारवाला निकायहरुको सहकार्यबाट नै प्रतिस्प्रर्धात्मक र प्रविधिमैत्री गुणस्तरीय शिक्षा अवलम्बन गर्न सकिने बताए ।

