भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोजिरहेको छ : गगन थापा

by समतल अनलाइन
33Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको भन्दै सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् ।

शनिबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारले उक्त घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप समेत लगाएका हुन् ।

थापाले भदौ २३ गते भएको घटनामा राज्यको कमजोरी रहेको स्वीकार गर्दै त्यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढिरहेको बताए पनि भदौ २४ गते कोइराला निवास, चाक्सीवारी, सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म भएका तोडफोड, आगजनी र हिंसाका घटनामा राज्य मौन रहेको दाबी गरे ।
उनका अनुसार उक्त दिन थुप्रै युवा तथा प्रहरीको ज्यान गएको उल्लेख गर्दै घटनाको सत्य तथ्य सार्वजनिक गर्न राज्यले कुनै पहल नगरेको आरोप लगाए ।

नेपाली कांग्रेसले विशेष महाधिवेशनपछिको पहिलो बैठकदेखि नै भदौ २४ गतेको घटनामा निष्पक्ष छानबिनको माग गर्दै आएको स्मरण गराउँदै उनले सरकारले आफ्नै प्रतिबद्धता बिर्सिएको टिप्पणी गरे ।

थापाले सरकारले सय दिने कार्यक्रम सार्वजनिक गर्दा भदौ २४ गतेको घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको भए पनि हाल त्यसतर्फ कुनै कदम नचालिएको बताए ।

उनले भने, ‘भदौ २४ गते भएको वितण्डाको हिसाब–किताब हुन अझै बाँकी छ। त्यस दिन भएका घटनाबारे सत्य बाहिर आउनुपर्छ ।’

थापाले मानवअधिकार आयोगको प्रतिवेदनसमेत सार्वजनिक नगरिएको भन्दै सरकारमाथि दबाब सिर्जना गरेर प्रतिवेदन लुकाइएको आशंका व्यक्त गरे । प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयनमा लैजानुपर्ने उनको माग छ ।

उनका अनुसार सरकारले प्रतिवेदन सच्याउन दबाब दिएको भन्ने विषय गम्भीर भएको उल्लेख गर्दै यदि आरोप गलत भए तत्काल प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए ।

उनले संविधानअनुसार सरकार चल्नुपर्ने र प्रतिपक्षका आवाजलाई पनि सम्मान गर्नुपर्ने आवश्यकता औँल्याए । साथै, संसद्मा प्रतिपक्षको सहयोगका कारण सरकारका नीति तथा कार्यक्रम पारित भएको भन्दै त्यसको सम्मान गर्नुपर्ने धारणा राखे ।

You may also like