खुद्रा किराना व्यवसायी संस्था बलियो बनाउन व्यवसायीलाई व्यवस्थापन र नेतृत्व प्रशिक्षण

by समतल अनलाइन
85Shares

बुटवल।संस्थागत क्षमता अभिवृद्धि र व्यवसायिक नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले आफ्ना कार्यसमिति सदस्यलाई लक्षित गरी टिम बिल्डिङ तथा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरेको छ।

शनिबार बुटवलमा सम्पन्न तालिममा संस्थालाई प्रभावकारी ढंगले सञ्चालन गर्ने विधि, समूहमा काम गर्ने शैली, व्यवसाय व्यवस्थापन तथा ग्राहकसँग सम्बन्ध विस्तारका विविध विषयमा सहभागीलाई व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

तालिमका क्रममा सामाजिक अभियन्ता दलबहादुर गुरुङले सफल संस्थाको आधार बलियो टिम कार्य भएको उल्लेख गर्दै उद्देश्य स्पष्टता, सदस्यबीचको सम्बन्ध, प्रभावकारी सञ्चार र योजनाबद्ध कार्यशैलीको महत्वबारे सहजीकरण गरेका थिए।

यस्तै, बुटवल उपमहानगरपालिकाको योजना शाखाका अधिकृत ठगिश्वर पोखरेलले व्यवसाय दर्ता, कानुनी प्रक्रिया, अनुगमन प्रणाली तथा व्यवसायीले पालना गर्नुपर्ने नीति–नियमका विषयमा जानकारी गराएका थिए। ग्रामीण विकासका जानकार युवराज घिमिरेले ग्राहकको मनोविज्ञान र व्यवसाय प्रवर्द्धनका उपायबारे प्रशिक्षण दिएका थिए भने सामाजिक उद्यमी एआर सिलवालले संस्थाको स्वोट विश्लेषण तथा व्यवहारिक अभ्यासमा सहजीकरण गरेका थिए।

५० जना सहभागी रहेको तालिम समापन कार्यक्रममा संघका अध्यक्ष गोपालकुमार प्रधानले यस्ता तालिमले व्यवसायीलाई केवल व्यापारिक पक्षमा मात्र नभई संस्थागत नेतृत्व र सामूहिक कार्यशैली विकासमा समेत सहयोग पुर्‍याउने बताए।

उनले भने, “व्यवसाय सञ्चालनसँगै संस्थालाई बलियो र व्यवस्थित बनाउन नेतृत्व क्षमता, समन्वय र टिम भावना आवश्यक हुन्छ । यस प्रकारका तालिमले सदस्यहरूको क्षमता विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ र सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो ।”

सहभागीहरूले समेत तालिमबाट प्राप्त ज्ञान र सीप संस्थागत काम तथा दैनिक व्यवसाय सञ्चालनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रम संघका महासचिव यमलाल बेल्बासेको सञ्चालन तथा अध्यक्ष गोपालकुमार प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो।

You may also like