काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासलाई सहयोग पुर्याउन भारतका तर्फबाट २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेका छन् ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले उक्त सहयोग प्याकेज सार्वजनिक गरेका हुन् । गत अगस्टमा नेपालमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले नेपालको पुनर्निर्माण र विकास प्रयासमा भारतले निरन्तर साथ दिने प्रतिबद्धता जनाए ।
मोदीले प्रधानमन्त्री शाहको प्रशंसा गर्दै नेपाल–भारत सम्बन्धबारे उनको स्पष्ट दृष्टिकोण रहेको बताए । संयुक्त राष्ट्रसंघमा शाहले दिएको सम्बोधनको स्मरण गर्दै मोदीले उनीसँग केही घण्टा बिताउँदा नै उनको सोच र दृष्टिकोण बुझ्ने अवसर पाएको उल्लेख गरे ।
नेपाल र भारतबीचको सम्बन्ध साझा इतिहास, धर्म, संस्कृति, आस्था र जनस्तरको आत्मीयतामा आधारित रहेको मोदीले बताए । नेपालबिना भारतका धाम र राम दुवै अधुरो रहने उल्लेख गर्दै उनले दुई देशबीचको सांस्कृतिक सम्बन्धको महत्त्वमाथि जोड दिए ।
भगवान् राम र माता सीता साझा सभ्यता तथा आस्थाका प्रतीक भएको बताउँदै मोदीले जनकपुरधाम र अयोध्याबीच सुरु गरिएको रेल सेवाले दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
भारत र नेपालबीचको सम्बन्ध छिमेकीको सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै मोदीले यसलाई आत्मीयता र अटुट विश्वासमा आधारित सम्बन्धका रूपमा व्याख्या गरे । दुवै देशका खुसी, चुनौती र आकाङ्क्षा साझा रहेको बताउँदै उनले नेपाल र भारत एकअर्काको प्रगतिका सहयात्री तथा कठिन परिस्थितिमा एकअर्काका भरपर्दो सहयोगी रहेको धारणा व्यक्त गरे ।
Log in for more


