युवा उद्यमी मञ्च लुम्बिनी (सीएनआईवाईईएफ)द्वारा एआई मास्टर क्लास सम्पन्न

by समतल अनलाइन
91Shares

बुटवल । व्यवसायमा कृत्रिम बौद्धिकता (एआई) कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गर्ने उद्देश्यले सीएनआईवाईईएफ युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा एक्जिक्युटिभ एआई मास्टर क्लास कार्यक्रम शुक्रवार बुटवलस्थित होटल हायातमा सम्पन्न भएको छ।

कार्यक्रममा भारतका चर्चित एआई विज्ञ तथा प्रशिक्षक पारितोष शर्माले व्यवसायिक क्षेत्रमा एआईको प्रयोग, यसको सम्भावना, उत्पादकत्व वृद्धि, डिजिटल प्रविधिको उपयोग तथा बदलिँदो प्रविधिसँग व्यवसायलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए।
कार्यक्रमको सञ्चालन लर्निङ चेयर विकास पाण्डेले गरेका थिए भने अध्यक्षता मञ्चका अध्यक्ष राजन कसजुले गरेका थिए।

कार्यक्रममा सहभागी वक्ताहरूले रुपन्देहीका युवा उद्यमीहरू राष्ट्रिय स्तरमै आफ्नो पहिचान स्थापित गर्न सफल भइरहेको उल्लेख गर्दै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। उनीहरूले बदलिँदो प्रविधिसँगै एआईको प्रयोगलाई व्यवसायसँग जोड्न सके नयाँ अवसर सिर्जना हुने धारणा राखेका थिए।

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले व्यवसायिक क्षेत्रमा प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको बताउँदै एआईले व्यवसाय सञ्चालनलाई थप प्रभावकारी बनाउन सक्ने धारणा व्यक्त गरे। रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले युवा उद्यमीहरूको सिर्जनशीलता र नवप्रवर्तनलाई थप प्रोत्साहन गर्नुपर्ने बताए भने उपाध्यक्ष बाबुराम बोहोराले आधुनिक प्रविधिसँग युवा पुस्तालाई जोड्न यस्ता कार्यक्रम उपयोगी हुने उल्लेख गरे।

त्यसैगरी सदस्य संयोजक अभिषेक पाठक, स्टार्टअप संयोजक विवेक कुमार कसौधन, वित्त संयोजक अर्जुन पाठक तथा कार्यकारी निर्देशक अभिनव थापालगायत सीएनआईवाईईएफ युवा उद्यमी मञ्च लुम्बिनीका सदस्यहरूले पनि आफ्नो धारणा राखेका थिए। कार्यक्रममा युवा उद्यमी मञ्चका सम्पूर्ण सदस्यहरूको सहभागिता रहेको थियो।

You may also like