बुटवल ।एउटा भिन्नै परिस्थितिमा हुन गईरहेको प्रतिनिधि सभाको यही २१ गतेको चुनावलाई लिएर खासगरी रुपन्देही क्षेत्र नं २ मा दलहरुले जारी गरेको घोषणा पत्रका आधारमा कुन दल राम्रो र कुन दल नराम्रो भनेर भिन्नता छुट्टाउन पर्ने आवश्यकता किन पनि छैन भने कुनै पनि दलका उम्मेदवार वा स्वतन्त्र उम्मेदवारहरुले जनताको मन बिझाउने तथा चित्त दुखाउने कुनै पनि कुरा उल्लेख गरेका छैनन् ।
दलहरुले जनता अथवा मतदाताका लागि राम्रो गर्ने जनताको जीवनस्तर सुधार्ने आफ्नो क्षेत्रको बिकासमा हरपल सक्रिय रहने मतदातालाई दुख पर्दा सहयोग गर्ने लगायतका बाचा गर्छन् जुन स्वभाविक पनि हो र उम्मेदवार तथा दलहरुका तर्फबाट गरिने यस्ता प्रतिवद्दताहरुप्रति मतदाताले कति बिश्वास गर्छन् वा गर्दैनन् भन्ने कुरा निर्वाचनको वेला गौण हुने पक्षहरु नै हुन् खासगरी हामीले गर्दै आएका अभ्यासहरुमा ।
अव यी दलहरुका घोषणा पत्रमा उल्लेख गरेका बाचाहरुलाई छाडेर हामी धरातलमा उत्रने हो भने अहिलेको चुनावमा रुपन्देही क्षेत्र न २ का मुख्य प्रतिष्प्रधि भनेका उम्मेदवारका रुपमा पुर्व मन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल, ब्यवसायी चुन्नप्रसाद शर्मा पौडेल र अधिबक्ता शुलभ खरेल नै हुन् भने दलका हिसावले उनीहरु क्रमशः नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस र राष्ट्रीय स्वतन्त्र पार्टीवाट प्रतिनिधित्व गरेका छन् ।
बिष्णु प्रसाद पौडेल
स्यांङ्गजामा जन्मेर पाल्पा हुदै रुपन्देहीको राजनीतिमा आएका पौडेल चलाखसंगै धुर्त र राज्यवाट पाउने सबै खाले अवसरहरु नगुमाएका नेताका रुपमा चर्चित छन् । बुटवल दीपनगरको सुकुम्वासीवाट शुरु गरेका उनको जमिन यात्रा काठमाण्डौको बालुवाटार हुदै ललितपुर सम्म विस्तार भएका समाचारहरु धेरै पहिले देखि नेपाली मिडियाहरुमा छाउदै आएका छन् । जमिन यात्राको बारेमा उनले आज सम्म मिडियाका समाचारहरु खण्डन नगरेकोले ती समाचारहरु गलत थिएनन् भनेर आम नेपालीले जस्तै यस क्षेत्रका मतदाताले पनि बिश्वास गरेको हुनु पर्छ भन्ने लाग्छ । जमिन यात्राको यो दाग शायद अव उनले जीवनयात्रा भरी नै हटाउन सक्लान् भन्ने कतै पनि लाग्दैन् ।
जमिन यात्रा बाहेक पौडेलसंग जोडिएको अर्को पर्याय भनेको उनको बिकास यात्रा पनि हो । कार्यकर्ता भन्छन् -उनले बाटो बनाए, पुल बनाए, एयरपोर्ट बनाए अर्थात उनले रुपन्देहीमा सवै थोक बनाए ।
उनका कार्यकर्ताको दावीलाई बिश्वास नगर्नु पर्ने कारण केही पनि छैन किनभने उनी ठांउमा थिए र त पैसा निकाल्न सके । उनी ठांउमा थिए र त निकालेको पैसा बाटोमा हाल्न सके, उनी ठांउमा थिए र त भैरहवामा एयरपोर्टलाई चाहिने भन्दा २३ अर्व रुपैयाको वढी जग्गा खरीद गराउन सक्षम भए । यो क्षेत्रका अरु दुई उम्मेदवारहरु चुन्न प्रसाद पौडेल र शुलभ खरेल अहिले सम्म ठांउमा छैनन् अनि उनीहरुले बिष्णु पौडेलको जस्तो बिकास गर्न कसरी सकुन त । त्यसैले बिकास तथा पुर्वाधारका कुरालाई लिएर चुन्न र शुलभलाई दोष दिने कहि कतै ठाउ नै छैन् ।
चुन्न प्रसाद पौडेल
बाग्लुंगमा जन्मेर गुल्मीमा मास्टर हुदै किराना पसल चलाउन बुटवल झरेका पौडेल राजनीतिमा नंया भए पनि बुटवलको जनजीवनमा नंया होईनन् । सुनीएको छ -उनका आधा दर्जन भन्दा वढी ब्यवशायिक प्रतिष्ठानहरु छन् । जहावाट उनले राज्यलाई सेवासंगै उत्पादन दिएका छन् । केही हजारलाई रोजगारी दिएका छन् । उनीसंग राजनितिक अनुभव छैन होला तर यही राजनीतिले बनाएको सिस्टमले उनलाई दिएका दर्जनौ हैरानीका अनुभवहरु निश्चय पनि छन् । सेवाग्राहीले राज्यसंग काम लिदा कति सम्म दुख पाईन्छ भन्ने लामा कथा व्यथाहरु उनीसंग छन् । चुन्नलाई लाग्यो होला -राज्यका यस्ता धमिराहरु फाल्न आफै अगाडि सर्ने वेला आएको छ । उनीसंग राज्य चलाउने अनुभव त राज्य चलाउने ठांउमा पुगे पछि न हुने हो ।
जहा सम्म अर्का उम्मेदवार शुलभ खरेलको कुरा छ यी युवा छन् । केही गर्छु भन्ने जांगर होला अनि मतदाताले मतदान गरेर जिताए भने केही गर्लान् पनि । तर चुन्न प्रसाद पौडेल र शुलभ खरेललाई नंया छन्, यिनीहरुको अनुभव छैन भनेर हेप्न भने पाईन्न है ।



