बुटवल । नेपाली कला, संस्कृति, स्थानीय खानपान र सामाजिक सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा ‘बृहत् शुभ दीपावली साँझ तथा फुड फेस्टिबल–२०८३’ आयोजना हुने भएको छ । ह्याप्पी क्लब र रुपन्देही इभेन्ट्स व्यवसायी संघको संयुक्त आयोजनामा आगामी कार्तिक २३ गते सोमबार बुटवल–३, गोलपार्कमा कार्यक्रम हुने भएको हो ।
सोमबार पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी विभिन्न उपसमितिमार्फत तिब्र रुपमा भैरहेको रुपन्देही इभेन्ट्स व्यवसायी संघका अध्यक्ष किरण श्रेष्ठले बताए । विगतका वर्षको निरन्तरतामात्र नभई यसपटक फरक ढंगबाट कार्यक्रम गर्न लागेको उनले बताए ।
यसैबिच मंगलबार पूर्वसन्ध्यामा वृहत प्रचारात्मक बग्गी, रथ, भिन्टेज कार, डिजेसहितको रयाली निकालिने भएको छ । यसैगरि पुल्चोक–गोलपार्कसम्म झिलिमिलीसहितको सजावट गरिने छ ।
कार्यक्रममा वडाअध्यक्ष विष्णु ढकालले रुपन्देहीकै पर्यटन प्रवद्र्धन हुने गरि महत्वपूर्ण कार्यक्रम हुन लागेको बताए । क्लबमार्फत गरिएको यस किसिमको कार्यक्रमलाई सबैका साथ र सहयोग जरुरी रहने उनले बताए ।
सास्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार बसन्त लम्साल, सिता राना, बाल कलाकार अर्मान श्रेष्ठको प्रस्तुति रहने कार्यक्रम संयोजक मच्छिन्द्र श्रेष्ठले बताए । विभिन्न जातजाती र स्थानियहरुबाट खानाका परिकारहरुको स्टल राखिने उनले बताए । यसैगरि दीपावली विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, स्थानीय खाद्य परिकारका स्टल, प्रायोजक संस्थाको ब्रान्डिङ र अतिथि सम्मान कार्यक्रमका मुख्य आकर्षण रहने छ ।
त्यसैगरी, रुपन्देही इभेन्ट्स व्यवसायी संघले टेन्ट, लाइट, साउन्ड तथा डेकोरेसन व्यवसायमा संलग्न व्यवसायीको हकहित संरक्षणसँगै अग्रसर रहेको संघमार्फत आफनो ब्यवसायीहरुको प्रचार हुने गरि यो कार्यक्रममा सहकार्य गरेको हो । कार्यक्रम सम्पन्न गर्न करीब १५ लाख खर्च हुने अनुमान रहेको छ ।


