काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारका लागि आन्तरिक मतदानको समय बढाएको छ ।
शनिबारदेखि शुरु भएको मतदान आज साँझ ७ बजेसम्म हुने बताइएकोमा रास्वपाले सोमबार बिहान १० बजेसम्म मतदान गर्न सकिने गरि बढाइएको रास्वपाका केद्रिय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङ्गले जानकारी दिएका छन् ।
रास्वपाले फागुन २१ गतेको प्रतिनिधि सभाको मानुपातिक तर्फका ११० उम्मेदवार छनोट गर्न गत कात्तिक २२ गतेदेखि नै प्रक्रिया शुरु गरेको थियो । समानुपातिकमा उम्मेदवार बन्न ३८० जनाले आवेदन दिएका छन् र उनीहरुको ब्लुप्रिन्ट, शून्य समयमा प्रस्तुतिपछि मतदान भइरहेको छ ।
रास्वपाले ६ क्लस्टर खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी र थारू बनाएर मतदान गर्न लागेको छ । जस अनुसार खसआर्यबाट ३३ जना, आदिबासीबाट ३२ जना, मधेसीबाट १८ जना, दलितबाट १५ जना, थारुबाट ८ जना र मुस्लिमबाट ५ जना उम्मेदवार चयन गर्दैछ ।
आन्तरिक मतदानमा अधिकतम ११० जनालाई मतदान गर्न सकिने र न्युनतम ५७ जना महिला उम्मेदवारलाई मत दिनुपर्ने व्यवस्था गरिएको छ । मतदातालाई कुनैपनि क्लस्टर खाली छोड्न नपाइने कम्तिमा १० प्रतिशत मतदान गर्नैपर्ने भनिएको छ ।
रास्वपाले यसअघि पनि उम्मेदवार छान्न प्राइमरी इलेक्सन गराएको थियो । नेपालमा अन्य दलले भन्दा फरक अभ्यास गरेपनि यस प्रक्रियाको पारदर्शितामा भने प्रश्न उठ्ने गरेको छ । उम्मेदवारले कति मत पाए, कति मतदान भयो भन्ने विवरण सार्बजनिक नगरिएकाले प्रश्न उठाउने गरिएको छ ।
साथै काठमाडौँ महानगरका प्रमुख बालेन शाहसँग सहमति भएकाले यस निर्वाचनबाट करिब ७० जना छनौट हुनसक्ने बताइएको छ । सहमति अनुसार समानुपातिकको सुचीमा करिब ४० जना बालेन पक्षका हुने बताइएको छ ।





