आजको मौसम : तराईमा तुवाँलो, पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने

by समतल अनलाइन
25Shares

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली भूभाग र कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा तुवाँलो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

राति तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

You may also like