काठमाडौं । देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान कर्णाली प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने पहाडी भूभागमा आंशिक बदली रहेको छ।
तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
राति तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।

