लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट ९७ प्रतिशत बिरामी असन्तुष्ट

by समतल अनलाइन

निरा गौतम
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट देखिएका छन् । बुटवलमा अवस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक एक हजार २०० बिरामी उपचारका लागि आउने गरे पनि अधिकांशले अस्पतालको उपचार सेवा राम्रो नभएको बताएका छन् ।

अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारदेखि सरसफाइ, खानेपानी र फार्मेसी सेवा सम्बन्धमा पनि बिरामीले गुनासो गरेका छन् । प्रदेश नं ५ को सरकारले अस्पतालले दिने सेवा सम्बन्धमा गरेको अध्ययनमा अधिकांश बिरामीले अस्पतालको सेवाबाट असन्तुष्टि व्यक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एवं टेकनारायण पाण्डेले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको सर्वेक्षणअनुसार अस्पताल आउने बिरामीमध्ये ९७ प्रतिशत बिरामीले अस्पतालको सेवाबाट सन्तुष्ट नभएको बताएका थिए । बाँकी तीन प्रतिशत बिरामीले मात्रै अस्पतालको सेवा राम्रो भएको प्रतिक्रिया दिएका थिए । बिरामीले अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारसमेत सही नभएको बताएका थिए ।

अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६९ प्रतिशतले चिकित्सकको व्यवहार ठीकठीकै लागेको प्रतिक्रिया दिएका थिए । अस्पताल आउने सात प्रतिशत बिरामीले मात्रै नर्सको व्यवहार राम्रो लागेको बताएको अध्ययनले देखाएको थियो । अस्पतालमा उपचारका लागि आउने बिरामीले प्रश्न गर्दा चिकितसक र नर्सहरुले उत्तर दिन झर्को मान्ने, बिरामीसँग राम्रो व्यवहार नगर्ने गुनासो यसअघि पनि गर्दै आएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अस्पतालको उपचार सेवा, सरसफाइ, खानेपानी र फार्मेसी सेवाका विषयमा समेत अधिकांश बिरामीले गुनासो गरेका छन् । अस्पतालको फार्मेसीमा औषधि नभएका कारण ७५ प्रतिशत बिरामीले अस्पतालबाहिर निजी क्लिनिकबाट औषधि किन्ने गरेको बताएका थिए ।

अस्पतालमा आएका बिरामीमध्ये ल्याब जाँच गर्नुपर्ने बिरामीहरु चिकित्सक र नर्सको सिफारिसमै निजी क्लिनिकमा जाने गरेका छन् । अस्पतालमा ल्याब परीक्षण गराउँदा सस्तो पर्ने भए पनि आफूलाई आउने कमिशनका कारण चिकित्सक र नर्सले निजी क्लिनिकमा ल्याब परीक्षण गर्न पठाउने गरेका छन् । त्यसरी चिकित्सक र नर्सको सिफारिसमै ल्याब जाँच गर्न बाहिर जाने बिरामी ३२ प्रतिशत रहेका छन् ।

अस्पतालको सरसफाइमा सुधार हुन नसक्दा बिरामीका गुनासा पुरानै छन् । बिरामीहरुले प्रयोग गर्ने अस्पतालको शौचालयसमेत प्रयोग गर्न लायक छैन । शौचालयको दुर्गन्धका कारण अस्पतालमा बस्नसमेत समस्या भएको बिरामीको गुनासो छ । अस्पताल आउने ७७ प्रतिशत बिरामीले अस्पतालको सरसफाइ राम्रो नभएको बताउँछन् ।

अस्पतालको सेवा सुधार गरी बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले अस्पतालमा आन्तरिक सर्वेक्षण गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव ज्ञानहरी घिमिरेले बताए । उनले सर्वेक्षणको प्रतिवेदन सम्बन्धित मन्त्रालय र कार्यालयलाई प्रदान गरी सेवासुधारका लागि समय दिने बताए । “अस्पतालको सेवाप्रति बिरामीको धेरै गुनासो छ, अब सरोकारवालासँग बसेर कसरी अगाडि जाने भन्नेबारे छलफल गर्छाैं”, उनले भने ।

विसं १९६७ फागुन १५ गते जितगढीमा स्थापना भएको अस्पताल २०२४ सालमा लुम्बिनी अञ्चल अस्पतालका रुपमा परिणत भएको थियो । २०७५ माघमा प्रदेश मातहत आएर अहिले लुम्बिनी प्रादेशिक अस्पतालका रुपमा सञ्चालित छ । प्रदेशका सबैजस्तो जिल्लाबाट बिरामीहरु उपचारका लागि यहाँ आउँछन् । अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञहरु छन् । तर अस्पतालका जागिरे चिकित्सकले अस्पतालभित्र भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिएपछि समयमा सेवा पाउन नसकेको बिरामीको गुनासो छ ।

प्रदेश सरकारले अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालन गर्न प्रक्रिया अघि बढाएको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा लिएर प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा विकास र विस्तार गर्नका लागि प्रक्रिया अघि बढाइएको हो । अस्पतालमा भवन अभावका कारण बिरामीलाई सेवा दिन समस्या भएपछि डाइग्नोष्टिक भवन बनाउन शुरु गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अस्पतालको स्तरवृद्धि गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने रणनीतिअनुरुप काम अगाडि बढाएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए ।

अस्पतालको सेवा सुधारका लागि इमर्जेन्सी र प्रसूति सेवालाई प्राथमिकतामा राखेर काम अघि बढाएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए । “अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन र व्यवहारलाई विशेष ध्यान दिएका छौँ”, उनले भने ।

रासस

 
 
  
 

You may also like