गौतमबुद्ध विमानस्थल डिसेम्बर सम्म सम्पन्न गर्नुपर्छः पर्यटनमन्त्री भट्टराई

भैरहवा ,२३ साउन। संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कुनै पनि हालतमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी २०१९ डिसेम्बर ३० सम्म सम्पन्न गर्नुपर्ने बताएका छन् ।

उनले भ्रमण वर्ष २०२० मनाउने कार्यक्रम रहेकोले भ्रमण वर्ष सफल हुन्छ भन्ने विषयसंग विमानस्थल र लुम्बिनी जोडिएको बताए । प्रधानमन्त्री केपी ओलीको पनि चासोको विषय गौतमबुद्ध विमानस्थल रहेको उनले बताए ।

‘जुनसुकै अन्तर्राष्ट्रिय मञ्चमा पनि प्रधानमन्त्रीज्युले भन्नुभएको छ, डिसेम्बरमा हामी आयोजनाको काम सम्पन्न गर्छौं र तपाईहरुलाई लुम्बिनीमा स्वागत गर्न आतुर छौं, मन्त्रीको जिम्मेवारी दिएपछि बधाई दिने क्रममा पहिलो जिम्मेवारीकै रुपमा गौतमबुद्ध विमानस्थलको आयोजना बारे मलाई भन्नुभएको छ, प्रधानमन्त्रीज्युले लिने परीक्षा पनि यही हो,’ उनले भने ।

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका कामहरु बिहीबार निरीक्षण गर्ने क्रममा मन्त्री भट्टराईले सिंगो मुलुकले यस विमानस्थलबाट फाइदा लिने बताए । अझ प्रदेश सरकार, स्थानीय सरकार र नागरिकले नजिकबाट फाइदा लिने उनले बताए ।

प्रदेश सरकार र स्थानीय तहले केन्द्र सरकारलाई पन्छ्याउने र केन्द्रले स्थानीय र प्रदेशलाई पन्छ्याएर काम अगाडी नबढे यसले सिंगो मुलुकलाई नै घाटा हुने भएकोले संयुक्त पहलकदमी आवश्यक रहेकोमा उनले जोड दिए । उनले विमानस्थल आयोजनालाई कुनै पनि सरकारी निकायबाट अवरोध आए मान्य नहुने बताए । सबैले आयोजनालाई सहयोग गर्नुपर्छ, उनले भने ।

‘डिसेम्बर ३० सम्म काम सम्पन्न गर्न कुन निकायको के भुमिका हो, पुरा गर्नुपर्छ, अब हामी हाजिरीजवाफको र्‍यापिड फायरमा पुगिसकेका र्छौ,’ मन्त्री भट्टराईले भने ।

प्रदेश ५ सरकारका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लिला गिरी, प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, भोज प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले आयोजना समयमै सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राखे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ईञ्जिनीयर प्रवेश अधिकारीले नदीजन्य पदार्थ समयमा उपलब्ध नहुँदा पनि आयोजनालाई समस्या आएको बताए । उनले सरकारी निकाय बीच समन्वयको आवश्यकता रहेकोमा जोड दिए ।

 
 
  
 

You may also like