साग महिला भलिबलमा नेपालले रच्यो इतिहास, नेपाललाई अहिलेसम्मकै ठूलो पदक

by समतल अनलाइन

काठमाडौं। दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले इतिहास रचेको छ । नेपालमा भएको १३ औं सागमा नेपाली महिला भलिबल टोलीले रजत जित्दै इतिहास रच्न सफल भएको हो ।

साग महिला भलिबलमा रजत अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो । यसअघि नेपालले महिला भलिबलमा कास्य मात्रै जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो ।

भारतले भने साग अन्तर्गतको महिला भलिबलमा लगातार स्वर्ण जित्दै आइरहेको छ। यसपटक पनि भारतले स्वर्ण आफ्नै पोल्टोमा पार्न सफल भयो ।

मंलबार दिउँसो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद (राखेप)को कभर्डहलमा भएको खेलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण जित्न सफल भयो ।

भारतले पहिलो सेटमा २५–१७ जित्यो भने दोस्रो सेटमा भने नेपालले २५–२३ को जित निकाल्यो । तेस्रो सेटमा नेपालले भारतलाई २५–२१ ले पराजित गर्न सफल भयो ।

चौँथो सेटमा भारतले २५–२० ले जित्यो । चौँथो सेटसम्म एकदमै राम्रो प्रदर्शन गरेको नेपाल अन्तिम सेटमा कम्जोर देखियो । अन्तिम सेटमा भने भारतले १५–६ को जित निकाल्न सफल भयो ।

समूह चरणको खेलमा पनि भारत र नेपालको भेट भएको थियो । उक्त खेलमा पनि भारतले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

 
 
  
 

You may also like