कृष्णदासजीलाई बलात्कार आरोप, दोहोरो नागरिकता

by समतल अनलाइन

सुनसरी । सिद्धबाबा नामले परिचित कृष्णदासजी महाराज बलात्कार आरोपमा मुछिएका छन् । कृष्णदासजीले चतरास्थित आ श्रममै आफूलाई बलात्कार गरेको उजुरी एक महिलाले दिएकी हुन् ।

काठमाडौंकी ती महिलाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा बुधबार जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । बिहीबार घटनास्थल पुगेर स्थलगत मुचुल्का तयार पारेको सुनसरीका डीएसपी विनोद शर्माले बताए । एसपी यज्ञविनोद पोख्रेलले पक्राउपुर्जी अदालती प्रक्रियामा रहेको बताए ।

बलात्कार उजुरी परेको सार्वजनिक भएसँगै कृष्णदासजी विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना भएका छन् । उपचारका लागि भर्ना भएको भनिए पनि त्यहाँ उनले अनुयायी, सरकारी अधिकारी, नेता तथा कानुनविद्सँग कानुनी एवम् सामाजिक विषयमा परामर्श गरेको बताइएको छ । प्रहरीले भने कृष्णदासजीलाई निगरानीमा राखेको जनाएको छ ।
फसाउने षड्यन्त्र

बलात्कार उजुरी बाहिरिएपछि कृष्णदासजीका अनुयायीले उनलाई फसाउने षड्यन्त्र भएको आरोप लगाएका छन् । उनीहरूले बलात्कारको आरोप लगाउने महिलाले कृष्णदासजीलाई पठाएको भनिएको म्यासेज सार्वजनिक गरेका छन् ।

म्यासेजमा ती महिलाले एकतर्फी रूपमा कृष्णदासजीसँग प्रेमभाव व्यक्त गरेकी छन् । एउटा म्यासेजमा लेखिएको छ, ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ । के यो झूटो हो ? हजुरको मनमा टोलाउँदा आफैं मुस्कुराउँछन् यी ओठ, के यो नाटक हो ? ’

ती महिलाले कृष्णदासजीलाई पटक पटक भेट्न खोजेको र भेट्नका लागि आफूहरूलाई पनि गुहारेको जगतगुरु रामानन्दचार्य सेवा पीठका अध्यक्ष तथा स्थानीय अगुवा गणेश सुब्बा ‘विरही’ ले बताए । रामानन्दाचार्य सेवा पीठ कृष्णदासजीको आश्रम हो ।

पटक पटकको कोसिस असफल भएपछि बलात्कार आरोप लगाएको हुन सक्ने उनको भनाइ छ । म्यासेजले आजित भएका कृष्णदासले गत कात्तिक १९ गते ती महिलाविरुद्ध ‘सार्वजनिक गाली बेइज्जती’ को जाहेरी टेकु प्रहरीमा दिएका थिए । आश्रममा बस्ने सुभद्रा ढकाल तथा सृष्टि अधिकारीलगायतले पनि आरोप निराधार भएको बताएका छन् ।
आयुर्वेद विश्वविद्यालयको योजना
एकताका आयुर्वेद विश्वविद्यालय खोल्न राजनीतिक दल र प्रशासन गुहारेका कृष्णदासजी महाराज पछिल्लो समय विषयान्तर देखिएका थिए ।

उनी र जगतगुरु बालसन्त मोहनशरण देवाचार्य मिलेर चतरामा महाकुम्भ सुरु गरेका थिए । चतरामा आयुर्वेद विश्वविद्यालय बनाउने, बराहक्षेत्र वरपरका जमिनमा जडिबुटी खेती गर्न लगाई सोको उपयोग गर्ने गरी योजना बनाएर उनले विभिन्न समयमा सरकार तथा राष्ट्रपति गुहारेका थिए । यहाँसम्म कि भारतको अर्बौं अनुदान भित्र्याउने समेत बताएका थिए । तर पछि उनले आ श्रमछेउमा सुविधासम्पन्न अतिथि गृह बनाए ।

सुनसरी–मोरङ सिँचाइ आयोजनाको जग्गामा बसेपछि विवादमा तानिएका उनले नेता तथा कर्मचारीलाई प्रभावमा लिएर उक्त जग्गा चतराधामको बनाएका थिए । उनको आ श्रममा सरकारले करोडौं खर्च गरिसकेको छ ।
बालसन्तसँग जुँगाको लडाइँ
२०५५ सालताका चतरामा आ श्रम बनाएर गुरुकुल पद्धतिबाट शिक्षण आरम्भ गरेर बसेका बालसन्त मोहनशरण देवाचार्यले कृष्णदासजीलाई चतरा ल्याएका थिए । दुवै मिलेर २०५९ सालमा महाकुम्भ आयोजना गरे । तर पछि दुवैबीच फाटो देखियो । पछिल्लो कुम्भसम्म आइपुग्दा बालसन्त एक्लै भए ।

महाकुम्भपछि बालसन्तले २०६७ सालमा जगत गुरुको उपाधि पाए । तर कृष्णदासजी टाढिँदै गए । कृष्णदासजीको स्वभावलाई लिएर बालसन्तले दुःखेसो गर्दै आएका थिए । यसबीचमा कृष्णदासजीले पटकपटक भूसमाधि गरे । पोखरा तथा चतरामा नौ दिनसम्म जमिनमुनि बिना अक्सिजन र खानेकुरा गरेको भूसमाधिले उनलाई चर्चित बनायो ।

पछिल्लो समय कृष्णदासजीले चतरामा तारकब्रह्म महायज्ञ लगा ए। नेपालका सहरबजारमा उनको फोटोसहितको महायज्ञको प्रचार थियो । धेरैले त महायज्ञलाई महाकुम्भका रूपमा बुझे । महायज्ञपछि भारतबाट आएका केही साधुसन्तले कृष्णदासजीलाई जगतगुरु घोषणा गरे । यसप्रति बालसन्त असन्तुष्ट थिए ।

तारकब्रह्ममा बालसन्त सहभागी हुन सकेनन् । महाकुम्भ उद्घाटनमा दुवैबीच अप्रत्यक्ष रूपमा भनाभन भयो। सजिलै जगत्गुरु नबनिने बताउँदै बालसन्तले भनिदिए, ‘काशीको विद्वत्सभाले चार वर्षको मन्थनबाट मात्रै मलाई जगतगुरु बनाएको हो ।’ अनि कृष्णदासजीले पनि भने, ‘देशभरका सन्त नजुटेको कुम्भ कुम्भ नै होइन ।’
दोहोरो नागरिकता

सोलुखुम्बुमा जन्मिएर चतरामा बस्दै आएका कृष्णदास महाराजको वास्तविक नाम कृष्णबहादुर गिरी हो । उनले गैरकानुनी रूपमा दोहोरो नागरिकता लिएको उजुरी परेको छ । सोलुबाट इटहरी–२० मा बस्न थालेका उनी पछि चतरामा आ श्रम बनाएर बसे ।

उनले नाम, जन्ममिति र स्थायी बसोबासको विवरण फरकफरक लेखाई सोलु र सुनसरीबाट दुईवटा नागरिकता लिएका छन् ।
सोलुबाट कृष्णबहादुर गिरीका नाममा लिएको नागरिकतामा जन्ममिति २०३० साल मंसिर १० गते लेखिएको छ । नागरिकताको नम्बर २२२७।५९५ हो । नागरिकतामा भीमसेन रुम्दालीले हस्ताक्षर गरेका छन् ।

चतरामा बस्न थालेपछि उनले २०६५ साल पुस १७ गते सुनसरीबाट श्री वैष्णव कृष्णदासका नाममा नागरिकता लिए । उक्त नागरिकतामा स्थायी बसोबास बराहक्षेत्र–१ सुनसरी लेखिएको छ । जन्ममिति २०३१ साल फागुन १९ गते लेखिएको छ । दोस्रो नागरिकताको नम्बर ०६९००४।१३२८०८ हो ।

नागरिकतामा प्रशासकीय अधिकृत वेदनिधि खनालले हस्ताक्षर गरेका छन् ।
दुवै नागरिकतामा जन्मस्थान जुबु सोलु र बुबाको नाम छविलाल गिरी लेखिएको छ । अन्य विवरण फरक छ । अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like