आफ्नै बारीमा फलाउने सकिने प्याज समेत ६ अर्बको आयात

by समतल अनलाइन

काठमाडौं । औद्योगिक तथा मेसिनरी वस्तुमा मात्रै होइन, आफैले करेसाबारीमा उत्पादन गर्न सक्ने तरकारीमा समेत नेपाल परनिर्भर छ । प्याज एक उदाहरण हो । वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको प्याज आयात हुँदा एक करोड ८९ लाखको मात्रै निर्यात भएको छ ।

भन्सार विभागका अनुसार आव ०७५–७६ मा एक लाख ७८ हजार क्विन्टल प्याज आयात भयो । यसरी आयात गर्दा देशले पाँच अर्ब ६२ करोड रुपैयाँ विदेश पठाएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब ५८ करोड ७७ लाखको ४१ हजार नौ सय क्विन्टल प्याज आयात भएको छ । आयातको बढ्दो ग्राफलाई मूल्यांकन गर्दा चालू आर्थिक वर्षमा ६ अर्बको प्याज भित्रने अवस्था छ ।

नेपालमा प्याज सबैभन्दा बढी भारतबाट आयात हुन्छ । दोस्रो बजार चीन हो । समीक्षा अवधिमा भारतबाट एक अर्ब ५६ करोड ४० लाख रुपैयाँबराबरको प्याज आयात भएको छ । त्यस्तै, चीनबाट दुई करोड ३२ लाख रुपैयाँ बराबरको प्याज आयात भएको देखिन्छ । त्यसबाहेक नामिबियाबाट समेत नेपालमा प्याज आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ ।

यस अवधिमा नामिबियाबाट तीन लाख ८७ हजार रुपैयाँबराबरको १२ क्विन्टल प्याज आयात भएको देखिन्छ । भारतीय बजारमा प्याजको मूल्य अकासिएपछि नेपाली बजारमा समेत प्रत्यक्ष असर परेको छ ।

निर्यात भने निराशाजनक छ । ०७५–७६ मा नेपालले एक करोड ८९ लाख रुपैयाँ बराबरको ८८ हजार केजी प्याज निर्यात गरेको छ । नेपालले कतार, सिंगापुर र भारतमा निर्यात गरेको हो । एक लाख ५९ हजार रुपैयाँ बराबरको तीन हजार पाँच सय केजी प्याज कतार निर्यात गरेको छ । त्यस्तै, सिंगापुरमा ३२ हजार रुपैयाँ बराबरको एक सय ४७ केजी निर्यात गरेको भन्सार विभागको तथ्यांक छ । भारतमा भने ७८ लाख ८० हजारको १३ हजार केजी निर्यात गरेको छ ।

यता, विदेशी उत्पादनमा भर परेकाले नेपाली बजारमा पनि प्याजको मूल्य इतिहासमै उच्च बिन्दुमा पुगेको छ । १० मंसिरयता काठमाडौंका खुद्रा बजारमा प्रतिकेजी दुई सय ५० रुपैयाँमा कारोबार भएको छ ।

कालिमाटी बजारमा १ मंसिरमा एक सय ७५, ४ मंसिरमा एक सय ८५ हुँदै ८ मंसिरमा प्रतिकेजी दुई सय रुपैयाँ निर्धारण गरिएको प्याज १० मंसिरमा २२५ मा कारोबार भयो ।

बाहिर पसलहरूमा दुई सय ५० सम्म कारोबार भयो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार दुई सय २५ रुपैयाँ प्रतिकेजी तोकेको प्याजको मूल्य शनिबार एक सय ९० निर्धारण गरेको छ ।

कालिमाटीमा प्याजको थोक कारोबार गर्दै आएका व्यवसायी प्रकाश गजुरेल असोज दोस्रो सातादेखि भारतबाट आयात घटेकाले मूल्य अकासिएको बताउँछन् । ‘भारतले प्याज निर्यातमा कठोर नीति लिएपछि आयात गर्न सकिएको छैन । फाट्टफुट्ट विभिन्न माध्यमबाट आयात भएको छ,’ उनले भने । तर, कालिमाटी बजार विकास समितिको तथ्यांकले भने भारतबाट प्याज आयात उत्साहजनक भइरहेको देखाउँछ ।

निर्यातमा प्रतिबन्ध लाग्नुअघि भदौमा २५ लाख ६ हजार केजी प्याज भारतबाट आएको छ । असोजमा १७ लाख १५ हजार र कात्तिकमा १३ लाख ४६ हजार केजी आयात भएको कालिमाटी बजारको तथ्यांक छ ।

यो आयात कुल मागको आधाभन्दा बढी हो, त्यसैले न्यून आयात होइन । तर, व्यवसायीले न्यून आयातको हवला दिँदै मूल्य भने अस्वाभाविक रूपमा वृद्धि गरेका छन् । भदौमा ६८ रुपैयाँ प्रतिकेजी रहेको प्याज असोजमा एक सय ३५ पुग्यो । कात्तिकमा एक सय ६५ सम्म पुगेको मूल्यले मंसिर लागेपछि रेकर्ड नै कायम गरेको हो ।

भारतीय बजार रक्सौलमा शनिबार प्याजको मूल्य प्रतिकेजी सय रुपैयाँ छ । तर, नेपाल भित्र्याउँदा भन्सार छलेर ३५ रुपैयाँ मात्रै मूल्यांकन गरिएको छ । जब कि वीरगन्ज छिरेलगत्तै प्याज दुई सय रुपैयाँमा कारोबार भएको छ । काठमाडौं आउँदा खुद्रा बजारमा दुई सय ५० रुपैयाँसम्म पर्छ ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले वीरगन्ज भन्सार कार्यालयमा प्याजको मूल्य प्रतिकेजी ३५ रुपैयाँ २० पैसा (२२ भारु) रहेको बताए । त्यसमा आयातकर्ताले १० प्रतिशत भन्सार मूल्य, पाँच प्रतिशत अग्रिम आयकर र पाँच प्रतिशत कृषि सुधार शुल्क तिर्नुपर्छ । ती कर समावेश गर्दा वीरगन्ज भन्सारमा प्याजको मूल्य प्रतिकेजी ४२ रुपैयाँ २४ पैसा हुन आउँछ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like