यी हुन् जानाजान ३० महिलालाई एचआइभी सारिदिने युवा, पाए २४ वर्षको जेल सजाय

by समतल अनलाइन

काठमाडौं । इटलीको रोमस्थित एउटा अदालतले ३० जना महिलामा जानाजान एचआइभी सारेको अभियोगमा एक पुरुषलाई २४ वर्ष जेल सजाय सुनाएको छ ।

सन् २००६ मा एचआइभी भएको पत्ता लागेपश्चात पेशाले लेखापाल रहेका भ्यालेन्टिनो टालुटोले कम्तीमा ५३ जना महिलासँग असुरक्षित ढंगले शारीरिक सम्बन्ध राखेको बताइएको छ ।
तीमध्ये एक जना १४ वर्षकी मात्र थिइन् जतिबेला टालुटोसँग उनको शारीरिक सम्बन्ध भएको थियो ।

सामाजिक सञ्जाल र ‘डेडिङ’ वेबसाइटमा ‘हार्टली स्टाइल’ भन्ने नाम राखेर उनले मानिसहरुसँग सम्पर्क बनाउने गरेको बताइएको छ । टालुटोका वकिलले उनको क्रियाकलाप ’मूर्खतापूर्ण भए पनि जानाजान नभएको’ दाबी गरेका छन् ।

समाचार संस्था एएफपीका अनुसार कण्डम लगाएर शारीरिक सम्बन्ध राख्न आग्रह गरेका महिलाहरुलाई टालुटोले त्यसबाट आफूलाई एलर्जी हुने र हालसालै एचआइभीको परीक्षण गराएको बताउने गरेका थिए । केही महिलाहरु एचआइभीबाट संक्रमित भएपछि उनको विरोध गर्न पुग्दा टालुटोले आफूमा एड्स निम्त्याउने प्राणघातक एचआइभीको जीवाणु नभएको बताएका थिए ।

टालुटोको क्रियाकलापले गर्दा उनले प्रत्यक्ष रुपमा एचआइभी सारेका एक महिलाबाट अर्का चार जना (तीन जना पुरुष र एक बच्चा) संक्रमित हुन पुगे । गत महिना अभियोजनाकर्ता एलिना नेरीले भनेकी थिइन्, उनका क्रियाकलापको उद्देश्य मृत्यु फैलाउनु रहेको थियो ।

तर टालुटोले उक्त आरोप अस्वीकार गर्दै भनेका छन्, एचआइभीबाट संक्रमित भएको थाहा भएको भए वास्तविक सम्बन्धहरु बनाउनका निम्ति मैले प्रयास गर्ने थिइनँ ।

टालुटोकी आमा एचआइभी संक्रमित लागुऔषध दुर्व्यसनी थिइन् र टालुटो चार वर्षको हुँदा उनकी आमाको मृत्यु भएको खबर बीबीसीले उल्लेख गरेको छ । निर्णय सुनाउनुअघि न्यायाधीशहरुले फैसलाबारे १० घण्टाभन्दा बढी समय छलफल गरेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार अदालतको फैसला सुनाइँदा पीडितहरु रोएका थिए । एजेन्सी

 
 
  
 

You may also like