काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनका बेलामा मधेशका मुद्दालाई सशक्त रुपमा उठाउने निष्कर्ष निकालेका छन् । मधेश केन्द्रित राजनीतिक दलहरूले साझा धारणा तय गर्न निरन्तर छलफल गर्ने पनि जनाएका छन् । काठमाडौंको धुम्बाराहीको समर्पण एकेडेमीमा आज दिउँसो मधेश केन्द्रित राजनीतिक दलहरुको कार्यदलस्तरीय बैठकमा सरकारको काम र आगामी रणनीतिको विषयमा छलफल भएको जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठीले जानकारी दिए ।
उनले भने, ‘विभिन्न कारणबस मधेश केन्द्रितहरू विभाजित भएकाले भन्दै अब सहकार्य गर्ने प्रण गरिएको छ । वार्ता समितिलाई सक्रिय बनाएर अघि बढ्ने सहमति भएको छ, आज प्रारम्भिक बैठक मात्रै हो । आगामी बैठकमा साझा एजेण्डा तय हुन्छ, साझा विचार आइनै हाल्छ, सहकार्यलाई सार्थक बनाउन बैठक नियमित बस्छौं ।’
दुई दलीय प्रणाली लैजाने विषय उठाउँदा देशलाई नै असर गर्ने उनीहरुको ठहर छ । उनले भने, ‘बैठकमा सत्तारुढ दलहरूले दुई दलीय प्रणाली लैजाने विषय उठाउँदा देशलाई नै असर गर्ने काम भइरहेका छन्, थ्रेस होल्डका कुरा उठिरहेको छ । यो विषयमा पनि आगामी दिनमा छलफल हुन्छ ।’ उनले मधेश केन्द्रित राजनीतिक दलहरुहरु अब मोर्चा बनाएर अघि बढ्ने भन्दै आगामी बैठकमा साझा एजेण्डा तयार गरिने बताए। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलदेखि संसद बाहिर रहेका तराई–मधेस केन्द्रित दल सहभागी रहेका छन् ।
बैठकमा जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठी,जनता प्रगतिशील पार्टीको तर्फबाट कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष डा.शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा, जसपाका कार्यदल सदस्य एवं उपाध्यक्ष रेणु यादव, जनता प्रगतिशील पार्टीका ईश्वर दयाल मिश्र, जनमत पार्टीका कार्यदलका सदस्य एवं पार्टीका प्रवक्ता डा. शरदसिंह यादव,जनता प्रगतिशील पार्टीका डा. भरत थापा, जनता प्रगतिशील पार्टीका मोहम्मद साबिर हुसैन, राष्ट्रिय मुक्ति पार्टी नेपालका अनिल महासेठ, तराई मधेश लोकतान्त्रिक पार्टीका बृज किशोर सिंह (वृषेशचन्द लाल), लोसपा नेपालका मनिष मिश्र, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायतका नेताहरु सहभागी थिए ।
सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेले संविधान संशोधन संशोधन गर्ने र थ्रेसहोल्ड बढाउने चर्चाका बीच मधेस केन्द्रित दलहरू एकीकृत हुन थालेका छन् । उनीहरुले मधेशी मोर्चा गठन गरेर आगामी कार्यदिशा निर्धारण गर्ने बताएका छन् । बैठकमा जसपा नेपाल भने अनुपस्थित रहेको छ ।
अमरेश सिंह पनि जोडिए, प्रभु साह र रेशम–रञ्जितालाई पनि सहभागी गराइने
तराई मधेसकेन्द्रित दलहरूले लुज–एयलाइन्स बनाउने सहमति गरेका छन् । संघीय संसद्का र बाहिर रहेका तराई–मधेसकेन्द्रित दलहरूले लुज–एयलाइन्स बनाउने सहमति गरेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।
‘मंगलबार काठमाडौंमा बसेको बैठकमा लुज–एयलाइन्स बनाउने सहमति भएको छ । यसका थप उद्देश्य र प्राथमिकता निर्धारण गरेर मोर्चासम्म पनि पुग्न सक्छ’, जनप्रगतिशील पार्टीका उपाध्यक्ष शिवजी यादवले भने, ‘आजको बैठक फलदायी भएको छ । अब आ–आफ्ना अध्यक्षसँग छलफल गरेर दुई हप्तापछि फेरि बस्ने निर्णय गरेका छौँ ।’
उपेन्द्र यादवको जसपा नेपालबाट राजकिशोर यादव सहभागी हुने भनिए पनि भारत गएकाले सहभागी भएनन्। तर उनीहरूको पार्टी लुज–एलाइन्समा सहभागी हुने निर्णय गरिरहेको छ । यस्तै प्रभु साह नेतृत्वको आमजनतासँग पनि लुज–एलाइन्सबारे छलफल भइरहेको संयोजक यादवले बताए । त्यसै बैठकमा स्वतन्त्र संसद् अमरेशकुमार सिंह पनि सहभागी थिए । उनी लुज–एयलाइन्स बनाउने कुरामा सकारात्मक छन् । यता रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट कोही सांसद र नेता सहभागी थिएनन् ।
000000