बुटवल। बुटवलको खाना महोत्सव तथा माघेसंक्रान्ती मेला सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, लुम्बिनी प्रदेश सरकार, पर्यटन ग्रामीण विकास तथा शहरी विकास मन्त्रालय पर्यटन विकास परिषद बुटवलको प्रवद्र्धन तथा रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा सोमबारदेखि जारी बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ बुधबार औपचारिक रुपमा समापन भएको हो ।
समापन समारोहमा पर्यटन विकास परिषद लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशीले रुपन्देहीको रैथाले परिकार प्रवद्र्धन गर्ने गरि महत्वपूर्ण कार्यक्रम गरिएको दाबी गरे । ‘यस्ता अभियानलाई निरन्तरता दिनुपर्छ ।’–उनले भने । विश्वकै उत्कृष्ट १० गन्त्ब्यमा पर्ने बुद्धजन्मस्थल लुम्बिनीलाई भजाउने गरि सरोकारवालाहरु पर्यटन योजना बनाउनुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा होटल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका महासचिव गणेश बेल्बासेले ब्यवसायीहरुको आफ्नो खानाको परिकार ब्राण्डिङ गर्ने उदेश्य अनुसार कार्यक्रम सफल भएको बताए ।
कार्यक्रममा संघका प्रमुख सल्लाहकार तथा पुर्वअध्यक्ष समुन्द्र जिसीले बुटवलको खाना पहिचान गराउने र माघी पर्वलाई प्रवद्र्धन हुने गरि उत्कृष्ट कार्यक्रम सम्पन्न भएपनि संघको विगत लामोसमयदेखि गर्दै आएको सडक महोत्सवलाई पहिलेकै स्थानमा चलाउन जरुरी रहेको औल्याए । ‘अब सडक महोत्सवको विकल्प छैन, सडकमै खाउ सडकमै रमाऔ भन्ने नारालाई सार्थक गराउन पहिलेकै स्थानमा कार्यक्रम गर्नुपर्छ ।’–उनले भने ।
कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले पर्यटन प्रवद्र्धनको अभियानलाई सफल बनाउने गरि अभियानको रुपमा कार्यक्रम गरिएको बताए । ब्यवसायीक हकहितसंगै सामाजिक र पर्यटन प्रवद्र्धनका कार्यक्रममा संघ निरन्तर लागेको उनले दाबी गरे ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक गैरे, रुपन्देही ब्यापार संघको अध्यक्ष दिपक अधिकारी, संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले मेला पर्वलाई ब्राण्ड बनाउने गरि लाग्नुपर्ने बताए ।
यसैबिच बुधबार मेलास्थलमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोग, नेपाल नियमित रक्तदाता संघ, लायन्स क्लब अफ बुटवल डायनामिक टुरिजमको सहकार्यमा रक्तदान कार्यक्रम भएको थियो । यसैगरि मंगलबार पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेको संयोजकत्वमा पर्यटन गोष्ठी समेत भएको थियो । कार्यक्रम सम्पन्न गर्न आर्थिक, भौतिक रुपमा सहयोग गर्ने संस्थाहरुलाई समापनको अवसरमा मायाको चिनो र प्रशंसापत्रबाट सम्मान गरिएको संघका अध्यक्ष महासचिव अर्जुन थापाले बताए ।
तीन दिनसम्म चलेको खाना महोत्सवमा उत्कृष्ट स्टल संचालकहरुलाई सम्मान गरिएको छ । समापन कार्यक्रममा टेण्डी फुड प्रालि प्रथम, डेडिज किचन द्घितिय, थकाली रेष्टुरेन्टको स्टल तृतिय घोषणा भएका छन । यसैगरि स्याङ्जा कारीकोट, हातेमालो महिला समूह, सिटि भिलेज फुड सान्त्वना हुदै पुरस्कृत गरिएको प्रचारप्रसार संयोजक अर्जुन पोखरेलले बताए । औपचारिक कार्यक्रम समापन भएपनि मध्येरातसम्म सागितिक कार्यक्रमहरु चल्ने उनले बताए ।