१२औं फर्साटिकर कपको उपाधि आयोजक फर्साटिकर युवा क्लबलाई

by समतल अनलाइन

नगेन्द्र केसी
शुद्धोधन।रुपन्देहीको शुद्धोधन गाउँपालिकामा सम्पन्न १२औं फर्साटिकर कप २०८१ को उपाधि आयोजक फर्साटिकर युवा क्लबले जितेको छ। बुधबार भएको फाइनल खेलमा अभिषेक चर्च, रजहरलाई ट्राइबेकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै फर्साटिकर युवा क्लबले उपाधि चुमेको हो।

उपाधिसँगै फर्साटिकर युवा क्लबले नगद ३ लाख ५ रुपैयाँ, कप, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको अभिषेक चर्च, रजहरले १ लाख ५० हजार ५ रुपैयाँ नगदसहित कप, मेडल, र प्रमाणपत्र प्राप्त गर्‍यो।

प्रतियोगितामा भैरव एफसीका सुरज आले सर्वाधिक गोलकर्ता घोषित भए भने फर्साटिकर युवा क्लबका सुवांकर जिसी उत्कृष्ट गोलकिपर र नरेन्द्र चौधरी म्यान अफ द टुर्नामेन्टबाट सम्मानित भए।

फाइनल खेल फर्साटिकर माविको खेल मैदानमा सम्पन्न भएको थियो। फर्साटिकर युवा क्लबका आशिष रानाले छैटौं मिनेटमा आकर्षक गोल गरे। २५औं मिनेटमा अभि लामाले थप गोल गर्दै फर्साटिकरको अग्रता दोब्बर बनाए।

तर, ३०औं मिनेटमा अभिषेक चर्च, रजहरले पेनाल्टीमा गोल गर्दै अन्तर घटायो। एरोन थापाले बराबरी गोल गर्दै खेललाई २–२ को स्थितिमा पुर्‍याए। निर्धारित समयसम्म बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो।

प्रतियोगिताको समापन समारोह फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुँवरको अध्यक्षतामा सम्पन्न भयो। शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले प्रमुख अतिथिका रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।

समारोहमा फुटबल संघका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसी, जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, क्लबका संरक्षक चक्रबहादुर कुँवर, युवा उद्यमी रमेश खनाल, र खेल संयोजक अकर्मली खानलगायतले विजेता, उपविजेता, र उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरे।

 
 
  
 

You may also like