बुटवल। उद्योग व्यापार संघ बुटवलले पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव २०८२ को आयोजना गर्ने घोषणा गरेको छ। संघले सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मेला आगामी पुस ५ देखि पुस २० गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो।
संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले मेलामा साना तथा मझौला व्यवसायलाई प्राथमिकता दिने लक्ष्य राखेको बताए। २०० देखि २५० सम्म स्टल दर्ता भइसकेको जानकारी दिँदै, उनले मेलालाई कानूनी रूपमा सम्पन्न गर्न बुटवल उपमहानगरपालिकामा दर्ता प्रक्रियामा रहेको पनि बताए।
संघका निवर्तमान अध्यक्ष गोविन्द गैरेले उद्योग व्यापार संघले २०७८ सालमा कोभिड महामारीको बीचमा पनि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गरे। उनले भने, “त्यतिबेला पनि संघको निरन्तर प्रयासले मेला प्रभावकारी बनेको थियो, जसले स्थानीय व्यवसायलाई चलायमान बनाउँदै अर्थतन्त्रलाई केही हदसम्म सहारा दिएको थियो।”
संघका संस्थापक अध्यक्ष खेमराज पराजुलीले मेलामा विशेष ध्यान स्थानीय र नेपालभित्र उत्पादित सामग्रीहरूको प्रवर्द्धनमा दिने बताएका छन्। उनका अनुसार, “हामी यस मेला सञ्चालन गर्दै देशभित्रका उत्पादनलाई उच्च प्राथमिकता दिने लक्ष्यका साथ यो मेला आयोजना गर्दैछौं। हाम्रो उद्देश्य यो मेला नयाँ र फरक तरिकाले सञ्चालन गर्नु हो, जसले स्थानीय उत्पादक र साना व्यवसायलाई थप अवसर प्रदान गर्नेछ।”